नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले जिम्मेवार प्रतिपक्षको भूमिका खेल्ने बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभामा बोल्दै उनले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिँदै जिम्मेवार प्रतिपक्षको भूमिका खेल्ने बताएका हुन् ।
कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच शक्तिपृथकीकरण कायम गर्ने सन्दर्भमा सर्वाेच्च अदालतको फैसलाले कमजोर तुल्याएको जनाउँदै तत्कालीन संविधानसभाका अध्यक्ष नेम्वाङले निर्वाचनमार्फत जनप्रतिनिधि चुन्न पाउने र ताजा जनादेशमा जाने कुरालाई निरङ्कुश भन्न नमिल्ने धारणा व्यक्त गरे ।
उपनेता नेवाङले भन्ने, ‘बेठीकलाई बेठीक भन्छाँै, जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्छाैं, प्रत्येक मन्त्रालयको अनुगमन गर्छाैं, सरकार के गर्दैछ भनी निगरानी राख्छाँै, तपाईसँग सम्बन्ध राख्छौँ, पार्टीभित्रका अरुसँग गठबन्धन गर्दैनौँ ।’
उनले दलबीच कतिपय विषय र मुद्दामा सिद्धान्त फरक धारणा, दृष्टिकोण र असहमति रहे पनि जनताले बनाएको संविधानमार्फत व्यवस्था गरिएको शक्तिपृथकीकरण, शक्ति सन्तुलन, लोकतन्त्र र दलीय अनुशासनका विषयमा भने देश पछाडि फर्कन्न भनी जनतालाई आश्वस्त तुल्याउन आवश्यक रहेको स्पष्ट पारे ।
आफ्नो पार्टीमा ह्विप लाग्ने तर अरु पार्टीमा ह्विप लाग्दैन भन्नु कति लोकतान्त्रिक हो भनी प्रश्न गर्दै नेम्वाङले अदालतबाट दलको निर्वाचन चिह्न र टिकटमा उठेको सांसदलाई पार्टीको नियन्त्रण नहुने व्यवस्थाले लोकतन्त्र र दलीय व्यवस्थालाई संस्थागत गर्न मलजल नगर्ने धारणा व्यक्त गरे ।