विकासका विचारधाराहरूलाई बिर्सेर राजनीतिक स्वार्थले मात्र ठाउँ पाइरहने हो भने राजनीतिक परिवर्तनहरू विकासका लागि सहायक हुँदैनन्।
नेपाललाई एउटा सुन्दर र विकसित राष्ट्रको रूपमा हेर्ने सपना हरेक नेपाली नागरिकमा जीवित नै छ। बिहानीको घामको किरणसँगै साँझको सुर्य अस्त सम्म खेतबारीमा आफ्नो नंग्रा खियाउने किसान र बजारको भीडमा चिल्ला गाडी कुदाइरहेकाहरूले देख्ने ‘विकसित नेपाल’को सपनामा कति भिन्नता छ होला ? परिवार पाल्न बाध्यतावश वैदेशिक रोजगारमा होमिएर काठको बाकसमा फर्किएकाहरूले आफ्नो देशमा विकासको कस्तो सपना देखेका थिए होलान्?
वैदेशिक रोजगारमा जाने नेपाली नागरिकहरूको अनुमतिपत्र जाँच्ने मन्त्रालयका अधिकारीहरूको नेपालको विकासको सपना के होला ? अहिले ६,७ वर्षको कलिलो उमेरमा मोबाइल खेलाइरहेका हात र मस्तिष्कहरूले अब देख्ने सपना र बेरोजगारीका गाथा बुनेर हातमा राहदानी बोकेर बिदेसिँदै गरेकाहरूको विकसित नेपालको सपनामा कत्तिको समानता आउला ? महाकवि देवकोटाले भन्ने गर्थे– ‘नेपाल सानो छ, तर आँखाको नानी छ, यसमा संसार लुकेको छ।’ साँच्चै नै यहाँ विकसित नेपालको सपनाको आकार विराट र विविधतापूर्ण छ।
देशमा भएको विकासले सबै नेपालीको सपनाहरूको सम्बोधन गर्ने भए सायद नेपालीहरु घर परिवार को सपना बोकेर लाचार भएर बिदेशीनु पर्दैन थियो होला।
सीप र जाँगर नभएर होइन आज युवा अवसर र श्रमको मूल्यांकन नहुँदा आज नेपाली नागरिकहरू मजदुर या त कामदार बनेर पर्देसिन् बाध्य छन। तिनमा भिजन छ, मिसन हुन्छ यतै केही गरौं भन्दा चाहेर पनि वातावरण पाउँदैन।
नेपालको सन्दर्भमा विकासका सपना पूरा गर्नमा विभिन्न आर्थिक अवधारणाहरूले ठाउँ पाए तापनि कुनै पनि विचारधाराले अर्थतन्त्रलाई डोर्याउन सकेको छैन। राणाशासनकालमा विकासको अवधारणामा आममानिसको सपनाले कुनै ठाउँ नै पाएन।
प्रजातन्त्रपश्चात् बिस्तारै आममानिसको विकासका सपनाले मौलाउने अवसर पाए। बिस्तारै राज्यको विकास नीतिमा ती सपनाहरू आंशिक रूपमा समेटिन पनि थाले। हर्क गुरुङले क्षेत्रीय विकासको अवधारणालाई अघि सार्दै नेपाली इच्छा र भावनाहरू स्थानीय तहबाट बुझ्ने प्रयासको थालनी भएको मान्न सकिन्छ।
देश विकासका लागि चाहिने स्रोत साधनमा बाह्य सहयोगमा निर्भर भइरहँदा आफ्नो माटोसुहाउँदो विकासका विचारहरू फस्टाउन पाएका छैन्न। हरेक चियापसलमा मानिसहरूले विकासका आफ्ना धारणा र सपनाहरू अभिव्यक्त गरिरहँदा विकासको डिस्कोर्स सुरु हुन थालेको हामीले आभास गर्न सकिन्छ।
विडम्बना के छ भने विकासको सपनाको निहुँमा देशमा थुप्रै उल्लेखनीय राजनीतिक परिवर्तनहरू भए। छोटो अवधिमा धेरै शासन प्रणाली देख्नेमा सायद नेपाल अगाडि आउँछ। दशवर्षे जनयुद्धसँगै देशमा सपनाका विविधता र संख्या दुवै थपिँदै गए। यहाँ सपना देख्नेहरू र ती सपना देखाउनेहरूका कति सपना साकार भए भन्ने ठूलो प्रश्न खडा छ। यस्तो लाग्छ, हामीले छिटो परिवर्तन खोज्दा धेरै गुमाएका पो छौँ कि ! भनिन्छ नि हतार गरे भन्न सकिन्न, बिस्तारै गए अवश्य पुगिन्छ।
हामीले हाम्रो समाजलाई चाहिने विकासको भाष्य आफैँले बनाउन जरुरी छ। विकासको मौलिक भाष्यले सबै नागरिकको अपेक्षा र सपनाको विविधतालाई बुझेर ती सपनाहरूबीचको दूरी कम गराउन जोड दिनुपर्छ।
काठमाडौं, पोखराजस्ता ठूला सहरमा बढ्दो महलको संख्याले हाम्रो विकासलाई प्रतिबिम्बित गर्दैन। आजका युवाले खाजामा कोदो र मकैको सट्टा बर्गर र पिज्जा रोज्नुलाई विकास मान्न सकिँदैन। विद्युत्को आपूर्तिका लागि घरमा जेनेरेटर राख्ने क्षमतालाई हामीले कुन विकासको संज्ञा दिने ? प्रविधिले विकासको बाटोलाई निकै फराकिलो बनाएको छ।
नयाँ प्रविधिबाट साधनस्रोतमा पकड हुनेले मात्र लाभ लिन सकेको देखिन्छ। आममानिसले प्रविधिबाट खासै लाभ लिन सकेका छैनन्। जसले गर्दा जनअपेक्षाको दूरी झन् बढ्दै गएको छ। त्यसैले नयाँ प्रविधि भित्र्याइरहँदा त्यस प्रविधिले माग गर्ने सीपमूलक तालिम र शिक्षामा सबैको समान पहुँच स्थापित हुन पनि जरुरी छ। अर्को कुरा, यी प्रविधिलाई हामीले स्थानीयकरण पनि गर्नु आवश्यक हुन्छ।
देशको शिक्षा प्रणालीमा पनि त्यस्तै छ। विकासका नाममा आज बालबालिकालाई अंग्रेजी मात्र रटान गर्न लगाइएको छ।
मौलिक संस्कृति र भाषामा छुट्टै प्रतिभा र तागत लुकेको हुन्छ। सांस्कृतिक परम्पराले स्थानीय स्रोतहरूको उपयोग र वितरणमा सामूहिक सक्रियता सुनिश्चित गर्छ। मौलिक संस्कृति र भाषामा मौलिक ज्ञान र सीप हुन्छ। जसले हरेक विकासका परियोजनालाई स्थानीयकरण गर्न मद्दत पुर्याउँछ। सांस्कृतिक परम्पराले आममानिसको समग्र मानसिक खुसी र सन्तुष्टि बढाइरहेको हुन्छ। यसमा हामी डरलाग्दो गरी चुकिरहेका छौँ।
आज आएर हामीले पाँच, छ वर्षे बालबालिकाको हातमा मोबाइल थमाए र विकासको सपनाको थालनी भएको सोच्नु अपूर्ण हुन्छ। विकासका सन्दर्भमा हामी चर्पीसम्म त पुग्यौँ, तर चर्पीमा सधैँ आवश्यक पर्ने पानी र साबुन विदेशी दाताबाट लिइरहँदा विकासका डिस्कोर्सलाई कता डोर्याउँदै छौँ? हामीले हाम्रो समाजलाई चाहिने विकासको भविष्य आफैँले बनाउन जरुरी छ। विकासको मौलिक भाष्यले सबै नागरिकको अपेक्षा र सपनाको विविधतालाई बुझेर ती सपनाबीचको दूरीलाई कम गराउन जोड दिनुपर्छ।