काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् पुनःस्थापना भएर संविधान बचेको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८औं स्मृति दिवसका अवसरमा शनिबार पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले संसद् पुनःस्थापना भएर संविधान बचे पनि अझैं चुनौती बाँकी रहेको बताए ।
उनले भने, ‘संसद् पुनःस्थापना गर्दै संविधान बचाउँदा ठूलै लडाइँ जितियो । तर अझैं धेरै ठूला चुनौती छन् । बुद्धिमत्तताका साथ सामना गर्नुपर्छ ।’
अमेरिकी परियोजना एमसीसीको बहानामा सत्ता गठबन्धन भत्काउन प्रयास भैरहेको र त्यसलाई बचाउन आफू लागिरहेको प्रचण्डले बताए । नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका प्रभावशाली नेता डा.भीम रावलको राजीनामालाई सत्ता गठबन्धन भत्काउन प्रयासको रुपमा अथ्र्याएको प्रचण्डले त्यो प्रयासर सफल हुने नसकेको बताए ।
आफूहरुले षड्यन्त्र बुझेरै जसरी पनि बहुमत जुटाउने प्रयास गरेर झण्डै दुईतिहाई बहुमत बनाउन सफल भएको बताए ।
आफूहरुको आन्दोलनले केपी ओलीहरुले घुँडा टेकेर इतिहासमा नराम्ररी पछारिएको उनले बताए । उनले भने, ‘पछारिएपछि केपी ओली अहिले विक्षिप्त भएका छन् । घरी बार्दलीबाट बर्बराउँदैछन्, घरी कहाँबाट बर्बराइरहेका छन् । यो बर्बराहट पनि लामो समय रहँदैन ।’
प्रचण्डले आफ्ना पार्टीका ४९ जनाले नै मन्त्री बन्न खोजेपछि आफू तनावमा परेको बताए । पछिल्लोसमय पद र अवसर नपाए नेतृत्वलाई गाली गर्ने प्रवृत्ति बढेको उनको गुनासो थियो ।