प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई बदनाम गराउन सक्रिय रहेका व्यक्तिले नक्कली फेसबुक र ट्विटरमार्फत अनेकथरि सन्देश प्रवाह गर्न थालेपछि छानबिनका लागि उजुरी गरिएको छ ।
सभापति देउवाले प्रधानमन्त्रीमा नियुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथग्रहण गरेको तस्बिर राखेर फेसबुक तथा ट्विटर आईडी सञ्चालन गर्दै आएका छन् ।
तर प्रधानमन्त्रीको नाम राखेर सञ्चालन गरिएको नक्कली आईडीमा हुँदै नभएका, उल्टो अर्थ लाग्ने र जनतालाई दिग्भ्रमित पार्ने सूचना पोष्ट गरिएको हुन्छ ।
मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयका सचिव बद्री तिवारीले अनुसन्धानका लागिकेन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)लाई लेखेर पठाइसकेको बताए ।
सचिव तिवारी भने, “नक्कली आईडी बनाएर प्रधानमन्त्रीको बदनाम गर्ने प्रयास भएको छ । लोकतन्त्रमा विश्वास राख्ने, देशमा सुशासन कायम गरेर राम्रो काम गर्न चाहने प्रधानमन्त्रीलाई नक्कली आईडी राखेर बदनाम गर्न खोजिएको छ । देशमा सुशासन र शान्ति सुरक्षा कायम गर्न पनि नदिनेहरूको यो चालबाजी हो ।”