काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गण्डकी प्रदेशमा डोबाटे विश्वकर्मालाई मन्त्री नबनाइनु दुर्भाग्यपूर्ण र अक्षम्य भुल भएको भन्दै सच्याउनुपर्ने माग गरेका छन् ।
शुक्रवार गण्डकीमा मन्त्रिपरिषद् विस्ता गर्दा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाले विश्वकर्मालाई मन्त्री हुनबाट रोकेर पोखराका धनाढ्य बिन्दुकुमार थापा मन्त्री बनेका थिए ।
त्यसमा असन्तुष्टि जनाउँदै नेता शेखर कोइरालाले गण्डकी प्रदेश सरकारले पूर्णता पाउने क्रममा समावेशीता र दलित समुदायको प्रतिनिधित्वलाई लत्याइनु दलित समुदायप्रतिको अपमान भएको उल्लेख गरेका छन् ।
‘उक्त निर्णयले दलित समुदायको शिर निहुरिएको छ । भोलि कुन मुखले उनीहरुको अगाडि जाने ? यो हेक्का राख्नु पर्दैन ? कि एकपटक सरकारमा गएपछि सधैंलाई पुग्यो ?’ उनले भनेका छन्, ‘यसलाई तुरुन्त सच्याउनु जरुरी छ ।’
भोलिका दिन यस्ता निर्णयहरु पार्टीको निम्ति निकै महंगो पर्न सक्ने भएकाले सबैलाई हेक्का राख्न उनले चेतावनी दिएका छन् ।