कतार सरकारले खोप र क्वारेन्टिनका सम्बन्धमा नयाँ नियम ल्याएको छ। अब कतार प्रवेश गर्ने व्यक्तिले खोपको मात्र पुरा गरेको १४ दिनपछि कतार प्रवेश गरेमा क्वारेन्टिन बस्नु नपर्ने भएको छ। कतार सरकारले सो मुलुक प्रवेशबारे जारी गरेको नयाँ नियममा यस्तो प्रावधान राखिएको कतारस्थित नेपाली दूतावासले जनाएको छ।
तर, कतार प्रवेश गर्ने यात्रुसँग पछिल्लो ७२ घण्टामा कोरोना नेगेटिभ आएको रिपोर्ट भने हुनुपर्छ। दूतावासका अनुसार कतारले फाइजर, वायोटेक, मोडेर्ना, अष्ट्राजेनिका र जान्सेन–जोन्सनको खोपलाई मात्र कतारमा मान्यता दिइएको छ।
प्रवेश गर्ने यात्रुको साथ खोप लगाएको प्रमाणपत्र हुनुपर्छ। प्रमाणपत्रमा खोप लगाइएको मिति, नाम÷प्रकार, उपलब्ध भएमा खोपको लट नम्बर खोप लगाउने निकायको छाप हुनुपर्ने दूतावासले जनाएको छ। सिनोर्फम खोप लगाएका व्यक्तिले भने उनीहरुको एण्टिबडी परीक्षण गरिनेछ।
सो बेला पोजिटिभ आएमा क्वारेन्टिन बस्नुपर्छ। नेगेटिभ देखिएमासमेत होटेल क्वारिन्टन बस्नुपर्ने छ। कतारमा कोभिड संक्रमण भई निको भएको १२ महिनाभित्र कतार पुनः प्रवेश गर्ने यात्रुले क्वारेन्टिन बस्नुपर्ने छैन।
खोपको मात्रा पुरा नगरेका, खोपको मात्रा लगाएको १४ दिन पुरा नभएको वा खोप नलगाएका यात्रुले भने अनिवार्य डिस्कोभर कतार वेवसाइटमा बुकिङ गरि १० दिन होटेल क्वारेन्टिन वा १४ दिन मेखाइनिस क्वारेन्टिन बस्नुपर्ने नेपाली दूतावासले जनाएको छ।