काठमाडौं – ७ बुँदे माग राख्दै यातायात व्यवसायीले सरकारलाई चाबी बुझाएका छन् ।
यातायात व्यवसायीहरुले काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीमार्फत गाडीको चाबी सरकारलाई बुझाएका हुन् ।
सार्वजनिक यातायात केन्द्रीय महासंघका उपमहासचिव केशव नेपालले विभिन्न सात बुँदे माग अघि सारेको तर सम्बोधन नभएपछि सरकारलाई चाबी बुझाएको बताए । उनीहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन समेत गरेका छन् ।
एउटै प्रदेश भित्र चल्ने गाडीहरुको भाडा समायोजन हुनुपर्ने, यातायात क्षेत्रमा रहेकालाई कोभिड–१९ विरुद्धको खोप लगाइनुपर्ने, यातायातको भाडा समायोजन गर्नुपर्ने, यातायातको विमा छुट समायोजन गर्नुपर्ने व्यवसायीहरुले माग गरेका छन् ।
त्यस्तै, सडक कानुन लागू गर्नुपर्ने, यातायातको कागजपत्र नविकरण र जरिवाना छुट गर्नुपर्ने तथा ढुवानी यातायातको वर्तमान नीति पुनरावलोकन गर्नुपर्ने माग उनीहरुको छ ।
यसअघि माग पूरा गर्न दवाव दिँदै यातायात व्यवसायीले चक्रपथमा सवारीको र्याली निकालेर विरोध गरेका थिए ।