आफ्नो होस् वा विपक्षीको, विरोध र समर्थन गर्न लोभ गर्दैनन् नेपाली कांग्रेसका नेता गगन थापा।
सदन होस् वा संसद, उनको प्रस्तुति सीधा, खरो र तर्कपुर्ण नै हुन्छ। यसै कारण अहिलेको समयमा लोकप्रियमध्येका एक नेतामा पर्छन्, गगन।
अहिले भने उनी कुनै पनि विषयमा खासै बोलिरहेका छैनन्। दिल्लीमा उपचार गराइरहेका नेकपा एमाले नेता एवम् पुर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने सवालमा पनि उनले बोल्न चाहेका थिएनन्।
सामाजिक सञ्जालमार्फत चर्को दबाब आएपछी भने उनले सामाजिक सञ्जालमा एउटा पोष्ट सम्म गरे। तर, त्यो पनि उनको ‘खरो शैली’को थिएन। बडो नापतौल गरेर लेखिएको उक्त पोष्ट ‘डिप्लोमेसी’ले भरिपूर्ण थियो।
गगन यसरी एकाएक ‘ब्याकफुट’मा आउनुको कारणबारे चर्चा शुरु भएको छ। कतिले आफ्नै पार्टी नेतृत्वमा रहेको सरकारको आलोचना गर्न नचाहेको रुपमा लिएका छन् भने कतिपयले निहित स्वार्थपुर्तीका लागि संयम बनेको विश्लेषण गरिरहेका छन्।
नेपाली कांग्रेसका एक नेताका अनुसार मन्त्री बन्ने आकांक्षाका कारण गगन विवादमा आउन नचाहेका हुन्। ‘अहिले मन्त्रिपरिषद विस्तारको तयारी चलिरहेको छ,’ कांग्रेसका ती नेताले नेपाली पब्लिकसँग भने, ‘यस्तो बेलामा कुनै वक्तव्यबाजी गरेर प्रधानमन्त्री देउवालाई चिड्याउने पक्षमा उनी छैनन्।’