इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकप्रति उपभोक्ताहरुको असन्तुष्टि बढ्दो क्रममा छ।
लामो समयदेखी वर्ल्डलिंकको सेवाको स्तर खस्कदैँ गएकाले उपभोक्ताहरुले कार्यालयमै पुगेर असन्तुष्टि पोख्न थालेका छन्। आइतबार वीरगञ्जस्थित वर्ल्डलिंकको कार्यालयमा असन्तुष्ट उपभोक्ताहरु गुनासो गर्न पुगेका थिए।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली बगैचा निवासी अमित अग्रवाल ६ महिनादेखि वर्ल्डलिंकको गुणस्तरीय सेवा नपाएको गुनासो गर्छन्। ‘म ३ वर्षदेखी वर्ल्डलिंकको इन्टरनेट प्रयोग गरिरहेको छु,’ उनले भने, ‘सानातिना समस्याहरु त पहिला पनि आउथ्यो। तर, आजकल त अति नै हुन थाल्यो।’
निरन्तर वर्ल्डलिंकको कार्यालयमा गएर समस्या बताउँदा समेत कुनै सुनुवाई नभएको उनले गुनासो गरे। ‘शुरुशुरुमा राम्रै सेवा दिने र ग्राहकलाई आकर्षक अफर देखाएर शुरुमै सबै पैसा लिने अनि पछि लापरवाही गरेर नेट सुस्त चल्ने, कहिलेकाहीँ त चल्दै नचल्ने लगायतका समस्याहरु छन्।’ अग्रवालले थपे।
वर्ल्डलिंक वीरगञ्ज शाखाका फिल्ड सुपरभाइजर प्रदिप साहले भने अग्रवालको सवालमा कुनै समस्या नभएपनि समस्याको समाधान गर्ने प्रयास भइरहेको प्रतिक्रिया दिएका छन्। हरेक दिन गुनासोहरु आउने गरेको स्विकार गर्दै समस्याहरुको समाधान गर्ने काम भइरहेको उनले बताए।
केहि समयअघि काठमाडौंमा पनि यस्तै समस्या देखिएको थियो। वर्ल्डलिंकको गुणस्तरहिन सेवाबाट आजित भएका उपभोक्ताहरुले वल्र्डलिंकको कार्यालय समेत घेराउन गरेका थिए।