नेपाल कम्युनिष्ट पार्टी एमाले नेता योगेश भट्टराईले नेपालको चर्चित रियालिटी शो ‘कमेडी च्याम्पियन’ को टप ६ मा पर्न सफल भरतमणी पौडेलको तारिफ गर्दै उनलाई भोट गर्न अपिल गरेका छन्। भट्टराइले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत पौडेलको तारिफ गर्दै भोट मागेका हुन्।
उनले पौडेललाई हाँस्यव्यांग्य क्षेत्रको उदाउँदो मणीको संज्ञा दिएका छन्। ‘अहिले चर्चामा रहेको कमेडी रियालिटी शो कमेडी च्याम्पियन सिजन दुईका प्रतिष्पर्धीहरु सबै अब्बल छन्,’ भट्टराइले फेसबुकमा लेखेका छन्, ‘त्यसमध्ये पनि भरतमणी पौडेलचाहिँ मलाई हाँस्य व्यांग्य क्षेत्रको उदाउँदो मणी जस्तै लाग्छ।’
उनले पैडेल जस्तो प्रतिभाशाली हाँस्य कलाकार आफ्नै गृह जिल्लाको भएकोमा पनि खुसी व्यक्त गरेका छन्। ‘कंञ्चनजंघाको फेदमा, तमोर नदीको चिसो पानी खाँदै, पाथिभारा माताको छत्रछाँयामा हाम्रो गाउँ/घरमा हुर्केबढेका यी ताप्लेजुङे हाम्रो प्रिय त छँदैछन्, त्योभन्दा बढी यिनी प्रतिभाशाली छन्।’ उनले लेखका छन्।
उनले पौडेल प्रतिभाशाली भएका कारण उनलाई भोट गर्न अपिल गरेका छन्। ‘यिनको दौडमा भोटमार्फत होस्टेमा हैँसे गर्दा सबै नेपाली दिदीबहिनी तथा दाजुभाइले पनि आनन्दको अनुभूति गर्नुहुनेछ।’ उनको आग्रह छ।
उनले अन्तिममा पौडेलको तारिफमा खर्चिएको विचार आफ्नो व्यक्तिगत विचार भएको र पौडेललाई भोट गर्ने नगर्ने आआफ्नो अधिकार भएको बताएका छन्।
उनले पौडेललगायत सबै प्रतियोगीलाई शुभकामना दिएका छन्।
केही दिनअघिमात्र योगेशकै पहलमा पौडेललाई पुरस्कार स्वरुप ६ लाख रुपैयाँ दिने घोषणा पनि भइसकेको छ।
अहिले ‘कमेडी च्याम्पियन’ को दोस्रो चरण चलिरहेको छ। अहिले यस शोमा अन्तिम ६ प्रतियोगीबीच कडा प्रतिष्पर्धा चलिरहेको छ।