जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षका नेता कार्यकर्ता पार्टी सनाखतका लागि निर्वाचन आयोग पुगेका छन् ।
आयोगले जसपा आधिकारिकता विवाद निरुपणका लागि एकता भएकै बेलाको कार्यकारिणी समितिमा रहेका ५१ जनालाई ‘हेड काउन्ट’ मा बोलाएपछि उनीहरु आयोग पुगेका हुन् ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अहिले पार्टी सनाखत हुने काम भइरहेको जानकारी दिए ।
पार्टीको आधिकारिकताको लागि जसपा अध्यक्ष उपेन्द्र यादवको पक्षमा ३४ जना केन्द्रीय कार्यकारिणी सदस्यले निर्वाचन आयोगमा सनाखत गरिसकेको बताइएको छ ।
अध्यक्ष यादव पक्षका कार्यकारिणी सदस्य महोम्मद इस्तियाक राईले अहिलेसम्म अध्यक्ष यादवको पक्षमा ३४ जना केन्द्रीय कार्यकारिणी सदस्यले सनाखत गरिसकेको जानकारी दिए । यो संख्या बहुमत हो । जसपामा ५१ सदस्यी कार्यकारिणी सदस्य रहेका छन् ।
सनाखतका लागि डिल्ली बजारस्थित कारागारमा रहेका सांसद रेशम चौधरीलाई पनि आयोगमा ल्याउने तयारी भइरहेको छ ।
अमृतादेवी अग्रहरि, राजकिशोर यादव, मनिश सुमन, गोविन्द चौधरी र रेशमलाल चौधरी आज उपेन्द्र यादव पक्षमा आएको दाबी गरिएको छ ।
जसपा पार्टी आधिकारिकताबारे विवाद भएपछि सुनुवाई गरिरहेको निर्वाचन आयोगले सोमबार बिहान ११ बजे केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई हस्ताक्षर सनाखतका लागि बोलाएको थियो ।
यसविरुद्ध अध्यक्ष ठाकुरले आयोगले केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई बोलाएकोमा सर्वोच्च अदालतमा रिट दिएका थिए तर सर्वोच्चले आइतबार ठाकुरको मागबमोजिम अन्तरिक आदेश दिएन । सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले ठाकुरको मागबमोजिम अन्तरिम आदेश नदिने निर्णय गरेको थियो । आयोगले हस्ताक्षर सनाखत गर्ने भएपछि पार्टी कार्यकारिणी समितिमा ठाकुर पक्ष अल्पमतमा पर्ने देखिएको छ ।
जसपा २०७७ असार २४ गते निर्वाचन आयोगमा दर्ता भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सत्ता साझेदारी गर्दा जसपा दुई समूहमा विभाजन भएको थियो । ठाकुर पक्ष सरकारमा सहभागी भएको थियो भने यादव पक्ष प्रतिपक्षमा उभिएको थियो ।
पार्टीमा विवाद शुरु भएपछि दुवै पक्षले पार्टी आधिकारिकता दाबी गर्दै आयोगमा पुगेका थिए । पछिल्लो पटक वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा दुवै पक्षले पक्षमा मतदान गर्ने निर्णय गरेका थिए ।