काठमाडौँ– नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरी
‘प्रिय नेपाली समर्थकहरू म वरिष्ठ उपाध्यक्षले पछिल्लो तीन हप्तादेखि गरिरहेको नाटकका कारण राजीनामा दिन गइरहेको छु। अब तपाईँ खुसी हुनु भयो होला नि पंकज विक्रम नेम्वाङ?’
अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ
‘पछिल्लो समय मेरो उनीसँग संवाद नै भएको छैन। खेलाडी मात्र होइन, खेलसँग सम्बन्धित पदाधिकारीहरुको मानसिकता परिवर्तन हुनुपर्छ भन्ने उनको अभिव्यक्तिलाई लिएर मैले स्पष्टीकरण सोध्नुपर्छ भनेर महासचिवलाई भनेको थिएँ। एक दिनपछि सोध्दा महासचिवले अबदेखि त्यस्तो हुँदैन भनेर भन्नुभयो। मैले त्यही विश्वास गरेँ। योबाहेक केही भएको छैन। यसबारे एन्फाले समिति बनाएर छानविन गर्नुपर्छ। म दोषी देखिएँ भने फुटबल संघबाट राजीनामा दिन तयार छु। अरु दोषी देखिए भागिदार हुनुपर्छ।’
अखिल नेपाल फुटबल संघ ९एन्फा० का प्रवक्ता किरण राई
'उहाँलाई के भएको हो भन्दा ‘म चाहिँ तनावमा छु !’ भन्नुभयो। अहिले लिखित रुपमा राजीनामा आएको छैन। तनावमा छु भनेपछि तपाईं आराम गर्नुस् भनें। वरिष्ठ उपाध्यक्षले पनि आफ्नो धारणा दिइसक्नुभएको छ। हामी यो विषयमा अध्ययनमा छौँ र केही समयपछि पत्ता लगाउँछौं। कन्फ्युजनको कारणले पनि हुन सक्छ अल्मुताइरीले एन्फाभित्रको राजनीतिका कारण राजीनामा घोषणा गरेको हुन सक्तैन।'
माथिका तीन वटा अभिव्यक्तिहरुले मूलतः दुई कुराको संकेत गर्छ।
पहिलो, नेपाली फुटबलभित्र सहज वातावरण छैन, एन्फा पदाधिकारी र मुख्य प्रशिक्षकबीत केही न केही त ‘खिचडी’ अवश्य पाकिरहेको छ। जसका कारण मुख्य प्रशिक्षक अल्मुताइरीले आफ्नो भूमिका सहजताका साथ निर्वाह गर्न पाईरहेका छैनन्। उनी अब राजीनामा दिएर आफ्नै मुलुक फर्कन चाहन्छन्।
दोस्रो, मुख्य प्रशिक्षक अल्मुताइरीमाथि एन्फा अधिकारीहरुको अनावश्यक दबाब आइहरेको छ जसका कारण उनी राजीनामा दिने ‘घुर्की’ दिएर एन्फा पदाधिकारीहरु (विशेषगरी वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ)लाई दबाबमा राख्न चाहन्छन्।
नेपाली खेलकुद क्षेत्रमा राजनीतिक हस्तक्षेप कुन तहसम्म हुन्छ भन्ने कुरा खेलकुदमा चासो राख्नेहरुले सहजै बुझ्न सक्छन्। राजनीतिक हस्तक्षेप र उदासिनताकै कारण नेपालले खेलकुदको क्षेत्रमा क्षमताअनुसारको उपलव्धी हासिल गर्न सकिरहेको छैन भन्ने कुरा ‘ओपन सेक्रेट’ नै हो।
आल्मुताइरीको आगमनसँगै नेपाली खेलाडी र दर्शकहरुमा एउटा उत्साह देखिन्थ्यो। मुख्य प्रशिक्षकको रुपमा उनले जगाएको विश्वासका कारण नेपालको खेलस्तर पनि सुध्रिदो क्रममा रहेको नै देखिन्थ्यो। तर, पछिल्लो समय उनले दिएका अभिव्यक्तिहरुमा उनीमा आफूमाथि निकै विश्वास रहेको झल्कन्थ्यो।
खरो शैलीमा प्रतिक्रिया दिने गरेका अलमुताइरीको प्रस्तुति सायद एन्फा पदाधिकारीहरुलाई ‘पाच्य’ नभएको हुनसक्छ। आइतबार अल्मुताइरीले फेसबुकमा लेखेको पोस्ट र त्यसको जवाफमा वरिष्ठ उपाध्यक्षले दिएको प्रतिकृया केलाउँदा एउटा निष्कर्ष निस्कन्छ– अलमुताइरीको ‘ठाडो’ बोल्ने शैली नेम्वाङलाई चित्त बुझेको थिएन भने नेम्वाङले पदाधिकारीको रुपमा दर्शाएको व्यवहार अल्मुताइरीलाई चित्त बुझेको थिएन। र, अहिले देखिएको बिवाद त्यसैको ‘बाइप्रोडक्ट’ हो।
अल्मुताइरीका पछिल्ला अभिव्यक्तिहरुलाई दोहोराएर सुन्ने हो भने उनको बोलीमा नेपाली फुटबलका लागि एउटा सपना देखिन्छ। साच्चिकै उनी केहि गर्न चाहन्थे। र, सायद अझै पनि चाहन्छन। तर, उनले खोजेजस्तो माहोल पाएका छैनन। त्यसैले, उनले आवेशमा आएर फेसबुकमा राजीनामाको कुरा लेखेको हुनुपर्छ।
यदि त्यसो होइन भने अल्मुताइरीले अहिलेसम्म राजीनामा नै आधिकारिक ठाँउमा बुझाइसकेका हुन्थे। उनको स्वभावले पनि त्यहि भन्छ।तर हैन, आल्मुताइरी नेपाली फुटबल टिमलाई यसरी बीचमा छाडेर जान चाहदैनन्। त्यसैले, यो ‘स्टन्ट’ गरेर उनी आफ्नो लागि सहज माहोल बनाउन चाहिरहेका छन्।
साँच्चिकै भन्ने भन्ने हो भने अहिले नेपाली फुटबललाई अल्मुताइरीको खाँचो छ। यसरी उनलाई काम गर्न मुश्किल बनाउने वा राजीनामा नै दिन बाध्य बनाउने प्रयास कहि–कतैबाट हुन्छ भने त्यो नेपाली फुटबल टिम र लाखौँ फुटबल प्रेमीहरुमाथि अन्याय हुनेछ। यसर्थ, एन्फाले अविलम्ब कदम उठाओस्। नेपाललाई अल्मुताइरी चाहिएको छ।