पार्टी विवादमा निर्वाचन आयोगमा पुगेर पनि तटस्थ बसेका जसपा सांसद रेशम चौधरीले आफूलाई न्याय दिन आग्रह गरेका छन् ।
आफू राजनीतिक कारणले जेल बस्नुपरेको उल्लेख गर्दै चौधरीले दोषीलाई दण्ड दिए पनि निर्दोषलाई थुन्न नपाइने बताए । उनले कविता सुनाउँदै यस्तो आग्रह गरेका हुन् ।
पढ्नुस् उनले आयोगबाट फर्किँदा सुनाएको कविताः
कठघरामा उभिएर जति सत्य बके पनि
न्याय पाऊ भन्दै हजुर सैयौं पटक झुके पनि,
निरीह ठान्दा रहेछन् शिर निहुराएपछि
दोषी ठहर्याउँदा रहेछन् चुप लागेर बसेपछि,
श्रीमान न्याय देऊ क्षमा चाहिँदैन ।
दोषीलाई दण्ड देऊ तर निर्दोषिलाई थुन्न पाइँदैन ।
न्याय, न्याय, न्याय !
टिकापुर घटनाको मुख्य योजनाकारको आरोपमा डिल्ली बजारस्थित कारागारमा रहेका चौधरी जसपा आधिकारिकता विवाद निरुपणका लागि एकता भएकै बेलाको कार्यकारिणी समितिमा रहेका ५१ जनालाई ‘हेड काउन्ट’ मा बोलाएपछि चौधरी आयोग पुगेका थिए । त्यहाँ पुगेर उनी अध्यक्षद्वय महन्त ठाकुर र उपेन्द्र यादव दुबै पक्षमा लागेनन् । उनले कुनै पक्षमा सनाखत नगरि कारागार फर्किए ।
जसपा अध्यक्ष उपेन्द्र यादवको पक्षमा ३४ जना केन्द्रीय कार्यकारिणी सदस्यले सनाखत गरेका छन् । यो संख्या दुई तिहाई हो ।
त्यस्तै, अध्यक्ष ठाकुरको पक्षमा १६ जना कार्यकारिणी सदस्यले सनाखत गरेका छन् । जसपामा ५१ सदस्यी कार्यकारिणी सदस्य रहेका छन् ।
योसँगै अध्यक्ष यादव पक्षले जसपाको आधिकारिकता पाउने निश्चित भएको छ । यसबारेमा आयोगले आजै निर्णय सुनाउने तयारी गरेको छ ।
आयोगबाट फर्किने क्रममा चौधरीले आफू पार्टीको इमान्दार र बफादार कार्यकर्ता भएकोले पक्ष विपक्षमा लाग्न नैतिकताले नदिएको बताए ।
सम्बन्धित समाचारः पार्टी विवादमा तटस्थ बसे रेशम चौधरी, भने– मेरो पक्ष जसपा, विपक्ष पनि जसपा