संयुक्त राज्य अमेरिकामा फेरि पनि देशैभरि गम्भीर रूपमा कोरोना भाइरस फैलिइरहेको छ। भाइरस फैलिएसँगै केही दिनयता अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या तिब्र रूपले बढेको छ। न्यू योर्क टाइम्सले विगत दुई हप्तामा कोरोनाबाट सङ्क्रमित हुने औसत दरमा १७१ प्रतिशतले वृद्धि भएको उल्लेख गरेको हाे।
अमेरिकामा दैनिक ४० हजारभन्दा बढी व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ भने दैनिक करिब २५० को हाराहारीमा मृत्यु भएको तथ्याङ्क छ। यसरि सङ्क्रमण बढिरहेको भन्ने रिपोर्टपछि अमेरिकाका वरिष्ठ स्वास्थ्य विज्ञ एन्थोनी फाउचीले कोरोना भाइरसका मामिलामा अमेरिका गलत दिशामा गइरहेको र त्यहाँ थप जोखिम बढेको बताएका छन्।
अमेरिकामा दैनिक साढे पाँच लाख व्यक्तिका दरले कोभिड–१९परीक्षण गरिएको छ भने पछिल्ला दिनमा कोभिड परीक्षण गर्न अस्पताल जाने को सङ्ख्या १३ प्रतिशतले घटेको छ। अमेरिकामा अहिले २६ हजार ३०२ जना कोरोना सङ्क्रमितले अस्पतालमा भर्ना भई सेवा लिइरहेका बताइएको छ। अस्पताल भर्ना हुनेको दर ४९ प्रतिशतले वृद्धि भएको छ।
जुलाई २६ सम्म कोरोनाबाट सङ्क्रमित हुनेको कूल सङ्ख्या तीन करोड ४२ लाख २१ हजार ५२६ रहेको छ भने हाल सम्म कूल छ लाख नौ हजार ५०८ जनाको निधन भएको छ। त्यहाँ पूर्ण खोप लगाउनेको सङ्ख्या ४८.८ प्रतिशत भएको छ भने एक मात्रा खोप मात्र लगाउनेको सङ्ख्या ५६.३ प्रतिशत पुगेको छ।
चीनमा पुनः भेटिए कोरोनाका सङ्क्रमित:
कोरोना भाइरसको उद्गम स्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ। चीनमा आइतबार कोरोना भाइरसका ४० जना नयाँ सङ्क्रमित भेटिएको नेशनल हेल्थ कमिसन शनिबार जानकारी दिएको थियाे। ती सङ्क्रमितहरु चीन भित्रैबाट सङ्क्रमणमा परेका पाइएको बताइएको छ।जानकारी अनुसार चीनको जाङ्सु र लियानिङमा ती सङ्क्रमित पाइएको हाे।
ती क्षेत्रहरुमा विगतका केही दिनदेखि निरन्तर रुपमा नयाँ नयाँ सङ्क्रमितहरु देखिने गरेका छन्।चीनभित्रै पनि सङ्क्रमणका नयाँ घटना भएका ती अधिकारीहरुले जनाएका छन्। आइतबार मात्र चीनमा कोरोना भाइरसका यी सङ्क्रमित भित्रैबाट देखिएका र अरु ३६ जना बाहिरबाट आएका नागरिकमा पाइएको छ।
चीनको युनान प्रान्तमा देखिएका ती ३६ जना बाहिरबाट आएका नागरिक रहेका चिनियाँ अधिकारीहरुले जनाएका छन्। स्थानीय नागरिकमै सङ्क्रमण देखिएपछि नेशनल हेल्थ कमिसनले चिन्ता व्यक्त गरेको छ। सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तीव्रता दिएको छ।
चीनले कोरोना निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ। यहाँ पछिल्ला हप्ताहरुमा हेलिङजाङ, हेइबेइ, संघाइमा पनि सङ्क्रमित देखिएका छन्। त्यसैले चीनले विशेषगरी ती क्षेत्रहरुमा निको भएका बिरामीमाथि पनि नजर राख्न थालेको छ र उनीहरुको पुनः स्वास्थ्य परीक्षण गर्ने काम केही महिना यतादेखि नै थालेको जनाएको छ।