नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुषालले उद्योगले तिर्न बाँकी ट्रंक र डेडिकेटेड फिडरको विद्युत बक्यौता उठाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएसँगै ‘शिवम सिमेन्ट’लाई झट्का लागेको छ।
प्राधिकरणका अनुसार मकवानपुरको हटियास्थित शिवम सिमेन्टले डेलिकेटेड लाइन प्रयोग गरी नेपाल विद्युत प्राधिकरणलाई २ अर्ब ३७ करोड ७० लाख एक सय ८५ रुपैयाँ तिर्न बाँकी रहेको छ।
सर्वोच्च अदालतले ट्रंक र डेडिकेटेड फिडरको विद्युत बक्यौता उठाउन आदेश दिए पनि शिवम सिमेन्टले उक्त आदेशको अवज्ञा गर्दै आएको थियो।
तर, नवनियुक्त ऊर्जामन्त्री भुषालको निर्देशनसँगै शिवम सिमेन्टले ट्रंक र डेडिकेटेड फिडरको विद्युत बक्यौता तिर्नैपर्ने बाध्यता भएको छ। यसअघि जस्तै ट्रंक र डेडिकेटेड फिडरको विद्युत बक्यौता नतिर्न शिवम सिमेन्टले ‘सेटिङ’ मिलाउन थालेको चर्चा हुन थालेको छ।
त्यसका लागि शिवम सिमेन्टका मालिकले दौडधुप सुरु गरेका छन्। उनीहरु ऊर्जामन्त्री भुषालका निकटस्थसँग सम्पर्क गरिरहेका छन्। तर, ऊर्जामन्त्री भुषाल भने आफ्नो पहिलो निर्णय र सबैतिरबाट सकरात्मक प्रतिक्रिया पाएको उक्त निर्णयबाट पछि हट्ने मनस्थितिमा छैनन्।
ऊर्जामन्त्री भुषालको यो निर्णयले शिवम सिमेन्टसँगै ५८ वटा उद्योगका मालिकहरू ट्रंक र डेडिकेटेड फिडरको विद्युत बक्यौता तिनुपर्ने बाध्यतामा आइपुगेका छन्।