दोस्रो पटक एकता भएको एक वर्ष नपुग्दै फेरि विवेकशील साझामा मतभेद देखिएको छ। सोमबार पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षताबारे आफ्नो नयाँ प्रस्ताव अगाडि सारेपछि अहिले पार्टीभित्र तीव्र मतभेद देखिएको हो।
अध्यक्ष मिश्रको प्रस्तावलाई लिएर पार्टी संयोजक मिलन पाण्डेदेखि बागमती प्रदेश संयोजक रञ्जु दर्शनासम्मले असन्तुष्टि व्यक्त गरिसकेका छन्।
‘पार्टीको घोषणापत्र, प्रस्तावित विधानअनुसार विवेकशील साझा पार्टी सामाजिक न्याय, समावेशीता र गणतन्त्रको जगमा बनिरहेको प्रोग्रेसिभ पार्टी हो,’ मिश्रको प्रस्तावमा असन्तुष्टि जनाउँदै पाण्डले सामबार साँझ फेसबुकमा एउटा पोस्ट लेख्दै भनेका छन्, विगतमा भएका आन्दोलनका उपलब्धिहरुको रक्षा गर्ने र संविधानको पूर्णतः पालना गर्ने प्रतिबद्धतामा पार्टी दृढ छ। बाँकी विचारहरु ‘नितान्त व्यक्तिगत हुन्।’
मिश्रको प्रस्ताव उनी स्वयं र पाण्डेले ‘नितान्त व्यक्तिगत’ हो भने पनि यसले पार्टीभित्र विग्रह ल्याइरहेको छ। यो मतभेद कति व्यापक रुपमा देखिइरहेको छ भने यसले पार्टी फेरि फुट्न सक्नेसम्मको आँकलन हुन थालेको छ। के फेरि फुटको सँघारमा पुगेको हो त विवेकशील साझा? हामीले यो प्रश्न पुर्व विवेकशील नेपाली र पुर्व साझाका एक–एक नेतासँग सोधेका छौँ।
‘हामीबीच ठुलो वैचारिक भिन्नता पहिल्यैदेखी छ,’ पुर्व साझाका एक नेताले परिचय नखुलाउने शर्तमा भने, ‘भन्न त नहुने हो तर, हामी छिट्टै अलग हुँदैछौँ।’ पार्टी अध्यक्ष मिश्रको पछिल्लो प्रस्तावका कारण मतभेद अझै बढेको उनले बताए।
पुर्व विवेकशील नेपालीका नेता तथा अहिलेका केन्द्रीय कमिटी सदस्य हरीश भट्टले भने बाहिर हल्ला चले पनि पार्टी फुटकै सँघारमै नपुगेको बताए। ‘यो कुरा सत्य होइन, कुनै पनि हालतमा होइन,’भट्टले भने, ‘पार्टी अध्यक्ष मिश्रले यो मिडियामा मात्र ल्याउनुभएको हो। उहाँले यो प्रस्ताव पार्टी केन्द्रीय कमिटीमै ल्याउनुभएको होइन। उहाँले यो प्रस्ताव उपर केन्द्रीय कमिटीको छलफलमै ल्याउनुभए पनि यो अनुमोदन हुँदैन। अधिकांश सदस्याहरु यसको विरोधमा हुनुहुन्छ।’