कोरोना भाइरस संक्रमण नियन्त्रण गर्नका लागि अस्ट्रेलियाको सिड्नीमा लागू गरिएको लकडाउन थप एक महिना बढाइएको छ। कोभिड–१९ को संक्रमण बढेको अवस्थालाई मध्यनजर गर्दै लकडाउनको अवधि बढाइएको हो।
बुधवार न्यू साउथ वेल्स राज्यमा थप १७७ जनामा संक्रमण देखिएको स्थानीय संचारमाध्यमले जनाएको छ। मार्च यताकै यो सबैभन्दा धेरै संख्या हो। विज्ञहरुले सेप्टेम्बर वा त्योभन्दा बढी समय सिड्नीमा संक्रमणको जोखिम रहन सक्ने बताएका छन्।
अस्ट्रेलियाको ठूलो शहरमध्येको सिड्नी विगत पाँच सातादेखि लकडाउनमा रहेको छ। जुन महिनामा संक्रमण बढेसँगै लगाइएको लकडाउनमा पनि संक्रमण दर घट्न सकेको छैन।
सबै अन्तर्राष्ट्रिय सीमा बन्द गर्दै, होटल क्वारेन्टाइनको कडा नियम लागू गरिए पनि संक्रमण फैलिएपछि अस्ट्रेलियाले थप सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ। भिक्टोरिया र साउथ वेल्स राज्यमा भने बुधवारबाट लकडाउन हटाइएको छ। त्यहाँ संक्रमण दर हाल नियन्त्रणमा रहेको छ।