सामान्यतया सुन, लागुऔषधजस्ता महगाँ सामानहरुको तस्करी हुने गरेको हामीले सुन्दै आएका छौ। पछिल्लो समय कपडा, मरिचजस्ता सामग्रीहरुको पनि तस्करी हुन थाल्यो।
अहिले भने तस्करीको ‘ट्रेण्ड’ केहि परिवर्तन भएको छ। नेपाल प्रहरीको तथ्याङ्कअनुसार नेपालमा केराउको तस्करी बढेको छ। बुधबार प्रहरीले नवलपरासीको सिमावर्ती इलाकाबाट ७ वटा पिकअप भ्यान र एउटा ट्रक नियन्त्रणमा लियो।
नेपालबाट भारततर्फ जाँदै गर्दा नियन्त्रणमा लिइएका ती सवारी साधनमा ३१ हजार किलो केराउ लोड थियो। ती केराउहरु तस्करी गरेर नेपालबाट भारततर्फ लैजान लागिएको थियो।
प्रहरीका अनुसार ती पिकअपमध्ये ६ वटा भैरहवास्थित शिवशङ्कर इन्टरप्राइजेजबाट नवलपरासीको भारतीय सीमा क्षेत्रस्थित प्रतापपुर गाउँपालिका–५ को श्रीराम इन्टरप्राइजेज, अम्बे इन्टरप्राइजेज र सोनु एण्ड मोनु जनरल स्टोर्सका लागि लैजान लागिएको थियो भने एउटा पिकअपको केराउ शुभगणपति टेडर्स रामग्राम–१० बाट भारतीय सीमावर्ती क्षेत्र पाल्हीनन्दनको पडरीतफै लैजाँदै गर्दा नियन्त्रणमा लिइएको हो।
यस्तै प्रतापपुर–२ मा एसएस इम्पेक्स वीरगञ्जबाट रकिरोशन जनरल स्टोर्स प्रतापपुरतर्फ लैजान अनलोड गरिरहेका अवस्थामा आधा ट्रक केराउ नियन्त्रणमा लिइएको हो। बरामद गरिएका केराउको आवश्यक अनुसन्धानका लागि महेशपुर भन्सार वा राजश्व अनुसन्धान कार्यालयमा चलान गर्ने तयारी गरिएको प्रनाउ लामाले जानकारी दिए।
केही दिनअघि पनि भारतीय सीमा क्षेत्रबाटै प्रहरीले १८ हजार केजी हरियो मटर ६ वटा पिकअपसहित नियन्त्रणमा लिएको थियो। प्रहरीले पटकपटक ठूलो परिमाणमा हरियो केराउ बरामद गर्दै आए पनि तेस्रो मुलुकबाट आउने केराउको तस्करी रोकिएको छैन।
जिल्ला प्रहरी कार्यालय पर्साको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा मात्र १ करोड ६५ लाख रुपैयाँभन्दा बढीको केराउ प्रहरीले बरामद गरेको थियो। प्रहरीका अनुसार तेस्रो मुलुकबाट सस्तोमा नेपाल आउने केराउ भारतमा महङ्गोमा बिक्री हुने भएकाले केराउको तस्करी बढेको हो।
केराउ तस्करी रोक्न खोज्दा कैलालीमा दुई प्रहरीको हत्या भएको थियो। केराउ तस्करलाई नियन्त्रणमा लिन खोज्दा तस्करसमूहले २०७७ साल कार्तिक महिनामा धनगढी–१२ जुगेडामा प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या गरेका थिए।
सीमावर्ती क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका चेकिङ पोस्टहरू छन्। केराउको तस्करी गर्ने कारोबारीले सीमा नाकाको दसगजा नजिकको ठेगाना राखेर पसल दर्ता गर्ने र सोही पसलको गोदाममा लगेर राख्ने गर्दछन्। त्यहीबाट उनीहरूले भारततर्फ पठाउने गरेका छन्।
सीमा क्षेत्रका नेपाली पसलका गोदाममा राखिएका केराउलाई अवैध भनेर प्रहरी र राजस्व कार्यालयले बरामद गर्न नसक्ने कानुनी झन्झटको फाइदा उठाउँदै तस्करहरूले भारततर्फ तस्करी गर्ने गरेका छन्।