प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहिवार भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र अन्य समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
त्यसपछि कांग्रेस, माओवादी र जसपाका नेताहरु छलफलमा जुटेका थिए । उक्त छलफलमा कांग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी र जसपाले ७ मन्त्रालय पाउने गरि भागबण्डा मिलेको बताइएको छ । तीन राज्यमन्त्री बनाइने बताइएको छ ।
सरकार गठनमा सहयोग गरेको नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष सहभागी हुने भएपछि उक्त पक्षलाई राजनीतिक नियुक्तिहरुमा स्थान दिइने सहमति भएको छ ।
कांग्रेस सभापति देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएसँगै कांग्रेस र माओवादी केन्द्रका तर्फबाट दुई÷दुईजना मन्त्री राखेर मन्त्रिपरिषद गठन गरेका थिए । यस्तै प्रधानमन्त्री देउवाले गत आइतबार एक राज्यमन्त्री थप गरेका थिए ।
प्रधानमन्त्री देउवाले साउन ३ गतेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिएपछि सबै दललाई मिलाएर अगाडि बढ्ने बताउँदै आएका छन् ।
अब छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ ।