प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा लागेका छन् ।
मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा रहेको देउवाले छलफललाई तिव्रता दिएका छन् । मन्त्रिपरिषद् विस्तारबारे बिहीबार बिहानै बालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए । सो क्रममा मन्त्रालय भागबण्डाबारे सहमति जुटेको थियो ।
त्यसपछि उक्त सहमतिलाई अन्तिम रुपम दिन बसेको कांग्रेस, माओवादी केन्द्र र जसपका नेताहरुको बैठकले मन्त्रालयको भागबण्डा टुङ्ग्याएको छ ।
उक्त छलफलमा कांग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी र जसपाले ७ मन्त्रालय पाउने गरि भागबण्डा मिलेको बताइएको छ । तीन राज्यमन्त्री बनाइने बताइएको छ ।
सम्बन्धित समाचारः देउवा र प्रचण्ड छलफलपछि मन्त्रालय भागबण्डा मिल्यो, कसले कति पाउने ?
सरकार गठनमा सहयोग गरेको नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष सहभागी नहुने भएपछि उक्त पक्षलाई राजनीतिक नियुक्तिहरुमा स्थान दिइने सहमति भएको छ । त्यसबारे अन्तिम छलफल गर्न प्रचण्ड अहिले नेपाल निवास कोटेश्वरमा छन् ।
मन्त्रालयमा भागवण्डामा सहमति भएपछि कांग्रेस पदाधिकारी बैठक बसिरहेको छ । उक्त बैठकमा क्रियाशिल सदस्यता विवादबारे छलफल हुने बताइएको थियो । तर, मन्त्रालय भागवण्डा मिलेपछि बैठकमा मन्त्रीको नामबारे पनि छलफल हुने कांग्रेसले जनाएको छ ।
देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले आफ्नो समूहबाट ४ जना मन्त्री हुनुपर्ने माग गरेको छ । तर प्रधानमन्त्री देउवा भने उक्त समूहका तीन जनालाई मन्त्री बनाउने तयारी छन् ।
माओवादी केन्द्रको बैठकले मन्त्रीको नाम छान्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ ।
मन्त्रीको नाम टुंगो लगाउन जसपा बैठक पनि बसिरहेको छ । मन्त्री टुङ्गो लगाउने जिम्मा उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राईलाई दिए पनि थप छलफल भइरहेको छ ।
बालुवाटार स्रोत भन्छ, ‘सबै पक्षले नाम दिएमा आजै सपथ हुन्छ । केही कारण आज हुन नसकेमा भोलि शुक्रबार मन्त्री नियुक्तिदेखि शपथसँगै हुन्छ ।’
कांग्रेस सभापति देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएसँगै कांग्रेस र माओवादी केन्द्रका तर्फबाट दुई÷दुईजना मन्त्री राखेर मन्त्रिपरिषद् गठन गरेका थिए । यस्तै प्रधानमन्त्री देउवाले गत आइतबार एक राज्यमन्त्री थप गरेका थिए ।
प्रधानमन्त्री देउवाले साउन ३ गतेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिएपछि सबै दललाई मिलाएर अगाडि बढ्ने बताउँदै आएका छन् ।