काठमाडौं – नेकपा (एमाले) उपाध्यक्ष भीम रावलले अमेरिकी सहयोग परियोजना एमसीसीसँग सम्बन्धित सबै सम्झौता संसद्मा पेश गर्न माग गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभामा बोल्दै सांसद रावलले एमसीसीसँग सम्बन्धित सबै सम्झौता संसद्मा पेश गर्न माग गरेका हुन् । उनले भने, ‘संसद्ले अनुमोदन नगर्दै कामकाज थालिएको छ । एमसीसीको मूल सम्झौतासहित सबै सम्झौता संसद्मा प्रस्तुत गरियोस् । सामरिक विषयसँग साटिनु हुँदैन ।’
उनले राष्ट्रहित र राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए । उनले भने, ‘सम्झौतामा भएका कुराहरु नेपालको कानुनसँग बाझेको छ । संविधानसँग बाझेको छ । नेपाली जनताको सर्वाभौममाथि आँच पुर्याउने काम गर्नुहुँदैन ।’
एमसीसीसँग सम्बन्धित सबै सम्झौताका विषयमा संसद्ले बुझ्न पाउनुपर्ने उनले माग गरे ।
एमसीसी संशोधन नगरी अनुमोदन गरिए राष्ट्रघात हुने र स्वीकार गर्न नसकिने बताए । ‘यसमा रहेका प्रावधान हटाएर, संशोधन गरेर अनुमोदन गर्नुपर्छ,’ उनले भने, ‘त्यो कुनै सामरिक कुरासँग जोडिएर आउनु हुँदैन ।’