भदौ ५ गतेसम्म चिनी मिलबाट उखुको बक्यौता भुक्तानी नपाए आफ्नो जमिन बेचेरै भए पनि आन्दोलन गर्ने सर्लाहीका उखु किसानले चेतावनी दिएका छन्। उखु किसान संघर्ष समिति, सर्लाहीका सचिव हरिश्याम रायले शुक्रबार नेपाली पब्लिकसँगको कुराकानीमा यस्तो चेतावनी दिएका हुन्।
रायले उखु मिललाई आफूहरुको बक्यौता भुक्तानी गर्न निर्देशन नदिए र नदिनेलाई कारबाही नगरे मिल सञ्चालकसँगै सरकारविरुद्ध पनि आन्दोलन गर्ने बताएका छन्। तर, वर्तमान सरकारले आफूहरुको पीरमर्का सुन्नेमा उनले विश्वास व्यक्त गरे।
‘यसअघिको सरकारले मिल मालिकलाई पैसा दिन लगाइदिन्छु भनेर पटकपटक आश्वासन दियो, हामीसँग सहमति गर्यो,’ आक्रोशित हुँदै रायले भने, ‘तर, हामीले पैसा पाएनौँ। वर्तमान सरकारसँग हामी एकदमै आशावादी छौँ। हामीलाई लाग्छ यो सरकारले हामीहरुको पीरमर्का बुझ्छ। तर, यो सरकारले पनि बुझेन भने हामी जग्गा बेचेरै भए पनि आन्दोलन गछौँ।’
उनले स्थानीय जनप्रतिनिधि, सांसद, मेयरलगायतसँग रकम उपलब्ध गराइदिन पटकपटक अनुरोध गरे पनि कसैले आफूहरुको कुरा नसुनेको गुनासो गरे। ‘जिल्ला प्रशासनमा त हामीले २०७६ सालमा अनसन नै गयौँ। अनसन सुरु गरेपछि जिल्ला प्रशासनले रकम दिलाइदिन्छु भनेर भनेको थियो, तर हामीले पैसा पाएनौँ’, उनले दुःख पोखे।
किसानहरु मिलबाट उखुको मुल्य र तौल गर्दा पनि ठगिएको उनको आरोप छ । ‘सरकारले प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ निर्धारण गर्दा लुम्बिनी सुगरले किसानलाई ३ सय ८५ रुपैयाँको दरले दिएको छ । अन्य उद्योगले पनि ४ सय ३५ देखि ४ सय ५० रुपैयाँका दरमा उखु क्रसिङ गरे,’ रायले भने।
जिल्ला र प्रदेशबाट सहयोग नपाएपछि आफूहरु ऋण काढेर काठमाडौंसम्म आउन बाध्य भएको उनले सुनाए। ‘हामीसँग यहाँसम्म आउने गाडीभाडा पनि थिएन, गाडीभाडा र खाना खर्चका लागि साहुसँग ऋण काढेर आएका हौँ।’ उनले भने।
उनले आफूहरुका प्रत्येक आन्दोलनमा सधैँ साथ दिएकोमा मिडियालाई धन्यवाद दिए । मिडियाले साथ नदिएको भए आफूहरुले थोरै रकम पनि नपाउने उनले बताए। ‘आगामी दिनमा पनि हामीहरुले साथ पाइरहनेछौँ,’ उनले भने।
उनका अनुसार उखु किसानले ५ मिलबाट करिव ५० करोड रुपौयाँ पाउन बाँकी छ। सर्लाहीका अन्नपुर्ण, महालक्ष्मी, लुम्बिनी, इन्दिरा र श्रीराम चिनी मिलले किसानलाई उखुको बक्यौत रकम दिएका छैनन्। उखु मिल मालिकलाई राजनीति संरक्षण भएका कारण आफूहरुले पैसा नपाएको उनको आरोप छ।
साउन १२ गते बेलुका काठमाडौं आइपुगेका उखु किसानहरुले बिहीबार पत्रकार सम्मेलन गर्दै भदौ ५ सम्म आफूहरुले बक्यौता रकम नपाए आन्दोलन गर्ने चेतावनी दिएका छन्। उद्योगीबाट बक्यौता रकम नपाएपछि संघर्षका कार्यक्रम सार्वजनिक गर्ने भन्दै रायलगायत गोपाल यादव, राम स्वार्थ राय, रामविलास महतो र गगनदेव राय यादव अहिले काठमाडौंमा छन्। उनीहरु अहिले गौशालास्थित धर्मशालामा बसिरहेका छन्।
सर्लाहीका उखु किसानहरु बक्यौता रकमका लागि आन्दोनल गर्न आएको यो तेस्रोपटक हो । उखु किसान संघर्ष समिति एवम् नेपाल सरकार उद्योग मन्त्रालयबीच २०७७ पौस १३ गते पाँचबुँदे सहमति दोस्रो पटक भएको थियो। सहमतिअनुसार २१ दिनभित्र उखु किसानहरुको सम्पूर्ण बाँकी रकम उद्योग मन्त्रालयले भुक्तानी गराउन जिम्मेवारी लिएको थियो। तर, सम्झौताअनुसार सम्पूर्ण रकम भुक्तानी नपाइएको उनले बताए।
गत वर्षको आन्दोलन अर्थात् दोस्रो पटकको आन्दोलनका क्रममा जाडोले कठ्यांग्रिएर एक किसानको मृत्युसमेत भएको थियो । १६ दिन लामो आन्दोलन टुंग्याउन उद्योग मन्त्रालय र किसानबीच सम्झौता भएको भोलिपल्ट उखु किसान ६७ वर्षीय नारायण यादवको हृदयघातबाट निधन भएको थियो। यादव चिनी मिलबाट उखुको बक्यौता माग गर्दै १६ दिनसम्म माइतीघर मण्डलामा भएको आन्दोलनमा सहभागी हुन सर्लाहीको धनकौलबाट काठमाडौं आएका थिए।