बीमा कम्पनीहरुको नियामक संस्था बीमा समितिले खातामा पैसा जम्मा भएपछि मात्रै बीमालेख जारी गर्ने नियम कडाईका साथ लागु गर्न निर्देशन दिएपछी वीरगञ्जका बीरगञ्जका निर्जिवन बीमा कम्पनीका कर्मचारीहरु एकजुट भएका छन्।
शुक्रबार भएको कर्मचारीहरुको भेलाले ‘ईन्स्योरेन्स क्लब अफ बीरगञ्ज’ गठन गरेको छ। उधारोमा बीमालेख गर्दा बीमा क्षेत्रमा नै विकृती बढ्न थालेपछी बीमा समितीले नियम कडाईका साथ लागु गर्न निर्देशन दिएको थियो।
यस्तो प्रावधान पहिले देखि नै रहेको भए पनि कडाईका साथ लागु भएको थिएन। कम्पनीहरुले दिएको अव्यवसायिक सुविधाको फाईदा उठाउदै बीमाका ग्राहकहरुले समेत उधारोमा बीमालेख गरी पैसा तिर्न आनाकानी गर्दा समस्या उत्पन्न हुने गरेको थियो।
यद्यपि बीमा ऐनमा उधारोमा जारी गरिएको बीमालेखले भोलीका दिनमा कुनै पनि जोखिम वहन गर्न कम्पनी बाध्य नहुने स्पष्ट उल्लेख गरिएता पनि यसै अनुसार व्यवसाय हुदै आईरहेको बीमा कर्मचारीहरु नै स्वीकार गर्छन।
कम्पनीले दिएको लक्ष्य र बजारमा बढ्दो प्रतिस्पर्धाका कारण कम्पनीले यस्ता अब्यवसायिक सुविधाहरु उपलब्ध गराउदै आएको कर्मचारीहरु बताउछन्। भेलामा सहभागि प्रिमियर इन्स्योरेन्सका शशि श्रेष्ठले सवै कर्मचारीहरुले एकजुट भएर यस्ता बिकृतीहरु हटाउने अठोट लिनुपर्ने बताए।
वीरगञ्जमा शाखा संचालनमा रहेको निर्जिवन बीमा कम्पनीहरु नेको, प्रिमियर, लुम्बिनी, प्रुडेन्सियल, सिद्धार्थ, एनएलजी, नेपाल, जिआईसी, एभरेष्ट, नेशनल, सानिमा, आईएमई र युनाईटेड कम्पनीहरुका आधिकारिक व्यक्तिहरुको उपस्थितिमा अब उप्रान्त बीमा कर्मचारीहरुबीच समन्वय र सदभाव कायम राख्दै समितिको निर्देशन अनुरुप नगद जम्मा गरेरमात्रै बीमा लेख जारी गर्ने र आगामी दिनहरुमा थप सुधार गर्दै लैजाने प्रतिवद्धता सहितको सहमति भएको नेको इन्स्योरेन्सका शाखा प्रबन्धक विक्रम आलेले बताए।