प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्दैछ । अपरान्ह ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक तय भएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
आजको बैठकमा मुख्य तीन वटा एजेण्डामा केन्द्रीत भएर छलफल हुनेछ । कार्यालय सचिव तामाङकाअनुसार केन्द्रीय विभागहरुलाई पूर्णता दिने, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नविकरण र वितरण मुख्य एजेण्डा रहेको छ । एमालेले साउन २५ गते विधान महाधिवेशन गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।
त्यस्तै, बैठकमा विघटित कार्यदलका सदस्यहरुले पार्टी एकतामा गरिएको प्रगतिबारे बैठकमा व्रिफिङ गर्नेछन् । अध्यक्ष केपी शर्मा ओलीले दिएको सहमतिको समयसीमा सकिएकाले आजको बैठकमा विघटित कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले बैठकलाई प्रगतिबारे जानकारी गराउनेछन् । र पार्टी विवादबारे ठोस निर्णय हुनसक्ने बताइएको छ ।
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदलका सदस्यहरु पार्टी एकताको पक्षमा निरन्तर छलफल र संवाद गरिरहेका भएपनि नेता नेपाल १० बुँदे सहमतिबारेमा सन्तुष्ट देखिएका छैनन् ।