लुम्बिनी प्रदेश सभा सदस्य विमला खत्री वली सम्पर्कमा आएको माओवादी केन्द्रले जनाएको छ ।
तीन दिन अघिदेखि सम्पर्क विहीन रहेकी वली सम्पर्कमा आएको माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगरले जानकारी दिए ।
परिवारसँगको सम्पर्कबाट वली बिरामी रहेको र उपचारमा रहेको जानकारी पाएका उनले बताए ।
वली सम्पर्कविहीन भएपछि सरकार अल्पमतमा परेकाले सत्ता टिकाउने उपायस्वरुप विमलालाई सरकारकै मान्छेले दबाब र प्रलोभनमा पारेर एमालेमै फर्काएको हुनसक्ने आशंका माओवादी गरेको थियो ।
जसपाबाट मन्त्री बनेका तीन जना सांसद शुक्रबार पदमुक्त भएपछि मुख्यमन्त्री शंकर पोखरेल पुनः अल्पमतमा परेका छन् । मुख्यमन्त्रीको पक्षमा एमालेका ३८ सांसद मात्र छन् भने विपक्षी गठबन्धनमा ४१ मत छ । प्रदेशमा नयाँ प्रदेश प्रमुख आएसँगै विपक्षी गठबन्धन विशेष अधिवेशनको समावेदन गरी मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारीमा छ ।
दाङमा भएको उपनिर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट चुनाव जितेकी विमलाले सर्वोच्चको फैसलाले नेकपा खारेज भएपछि माओवादी केन्द्र रोजेकी थिइन् ।
यसअघि पनि जनता समाजवादीकी सांसद पुर्मती ढेंगामगर सम्पर्कविहीन रहेको र उनलाई सत्तापक्षले अपहरण गरेको विपक्षी गठबन्धनले आरोप लगाएको थियो ।