पाँच विद्यार्थी संगठनले भारतीय अपराधिक कार्यको विरोध गरेका छन् । साथै उनीहरूले सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।
दार्चुलाको व्यास गाउँपालिका वडा नं. २ का जयसिंह धामी विदेश जानको लागि महाकाली नदी तर्ने क्रममा भारतीय सशस्त्र प्रहरीले तुइन काटिदिएपछि नदीमा बगेर बेपत्ता भएका छन् । उक्त भारतीय अपराधिक कार्यको विरोध र भत्र्सना गर्दै घटनाको छानविन गरी तुइन काट्ने व्यक्तिलाई कारवाही गर्न विद्यार्थी संगठनले माग गरेका छन् ।
तुइनबाट शुक्रबार बेपत्ता भएका धामी अझै फेला परेका छैनन् । धामी महाकालीमा खसेर बेपत्ता भएपछि उनको गाउँ शोकमग्न बनेको छ । उनको खोजी कार्य जारी छ ।
साथै उनीहरूले मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकूलपतिले विद्यार्थीमाथि प्रशासन लगाएर दमन गर्ने, धम्क्याउँदा परीक्षाको वातावरण विथोलिएको भन्दै विद्यार्थीहरुका जायज मागहरु सम्बोधन गरी परीक्षा सूचारु गर्न माग गरेका छन् ।
धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीहरूले दादागिरी मच्याइरहेको, पढाइ, विरामीको उपचारलगायत दैनिक काममा निकै बाधा उत्पन्न भएको भन्दै विद्यार्थी संगठनले उपकूलपतिलाई बर्खास्त गरी प्रतिष्ठानका समस्या समाधान गर्न माग गरेका छन् ।