प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा शनिबार भेटवार्ता भएको छ ।
सरकार विस्तार तथा जनताको दैनन्दिन समस्या समाधानका विषयमा केन्द्रित भएर छलफल भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
प्रधानमन्त्री देउवाले गत असार २९ गते पद तथा गोपनीयताको शपथ लिएका थिए । शपथ लिएको १९ दिन बितिसक्दा समेत मन्त्रिपरिषद विस्तार हुन नसक्दा बाहिर आलोचना भइरहेको भन्दै अध्यक्ष प्रचण्डले चाँडै मन्त्रिपरिषद विस्तारबारे भेटमा जोड दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी, नेपाल (जसपा)बीच सत्ता समिकरणमा मन्त्रालयको भागबण्डा मिलिसकेको अवस्थामा कसलाई कुन मन्त्रालय जिम्मेवारी दिने भन्ने विषयमा अझै टुङ्गो लाग्न बाँकी छ ।
मन्त्रीपरिषद विस्तारको गृहकार्य तीव्ररुपमा भएकाले आउने सोमबार वा मंगलबारसम्म विस्तार हुनसक्ने स्वकीय सचिव देउवाले बताए ।
सम्बन्धित समाचारः
देउवा र प्रचण्ड छलफलपछि मन्त्रालय भागबण्डा मिल्यो, कसले कति पाउने ?