अफगानिस्तानको दक्षिणी र पश्चिमी भागमा रहेका तीन मुख्य सहरहरूमा तालिबानको आक्रमणले द्वन्द्व चर्किएको छ ।
सरकारी फौजबाट नियन्त्रण खोस्ने प्रयासमा तालिबान लडाकुहरू हेरात, लश्कर गह र कान्दहारभित्र प्रवेश गरेका छन् । सेप्टेम्बरको अन्त्यसम्म लगभग सबै विदेशी फौजले अफगानिस्तान छोड्ने घोषणा भएका कारण उनीहरूले ग्रामीण क्षेत्रमा सजिलै नियन्त्रण जमाउँदै लगेका छन् । तर यी तीन सहरहरूको द्वन्द्व सरकारी फौजको परीक्षण हुने र मानवीय सङ्कट आउन सक्ने कारण महत्त्वपूर्ण रहेको बताइएको छ ।
तालिबालले पाकिस्तान र इरानका महत्त्वपूर्ण सीमासहित अफगानिस्तानको आधा भूभाग नियन्त्रणमा लिएको मानिएको छ । लश्कर गहमा शनिवार तालिबान गभर्नरको कार्यालयबाट केही सय मिटरको दूरीमा पुगेको तर राति सरकारी फौजले पछाडि धकेलेको बताइएको छ।
बीबीसी संवाददाता सेकुन्दर केरमानीले तालिबानले सहरमा आक्रमण केन्द्रित गरेको र थुप्रै अमेरिकी र ब्रिटिस सैनिकले ज्यान गुमाएको हेल्मन्ड प्रान्तको राजधानी लश्कर गहको अवस्था तरल रहेको बताएका छन् ।
उक्त सहरमा तालिबानले कब्जा गर्ने जोखिम रहेको बताउँदै हजारौँ मानिसहरू घर छोडेर हिँडेको र मानवीय सङ्कट आउने बताए ।
गुल अहमद कामिनले अवस्था प्रत्येक घण्टा खराब बन्दै गइरहेको बताउँदै सहरभित्रको द्वन्द्व गएको २० वर्षमा सबैभन्दा खराब भएको बताए ।
आर्थिक हिसाबले महत्त्वपूर्ण हेरातमा दक्षिणी भागमा तालिबान प्रवेश गरेपछि द्वन्द्व चर्किएको टोलो न्यूजले जनाएको छ । त्यहाँ कम्तीमा पाँच स्थानमा गोली हानाहान भइरहेको बताइएको छ । बीबीसी