एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री शेरबहादुर देउवा तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रयास गरिरहेका छन्।
त्यहीँ प्रयास स्वरुप प्रधानमन्त्री देउवा र प्रचण्ड लगातार नेपाल निवास कोटेश्वरमै पुगिरहेका छन्। आइतबार बिहान मात्रै प्रचण्ड नेपाल निवास कोटेश्वर पुगे। भेटमा प्रचण्डले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेको प्रचण्ड निकट स्रोतले जनाएको छ।
प्रचण्डले नेपाललाई सरकारमा सहभागी हुन र ६ मन्त्रालय लिन आग्रह गरेका छन्। तर, नेपालले भने तत्काल सरकारमा सहभागी नहुने जवाफ दिएका छन्।
नेपाल पक्षका सांसदले साथ नदिएको भए देउवाले प्रधानमन्त्रीमा दाबी गर्दै राष्ट्रपति कार्यालयमा बहुमत सांसदको हस्ताक्षर बुझाउन सक्ने थिएनन् र अदालतले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश नै जारी गर्ने अवस्था हुन्थेन। त्यसकारण त्यो सहयोगको गुण देउवा र प्रचण्ड नेपाललाई सहकारमा सहभागि गराएर तिर्न चाहन्छन्।
नेपाल पक्षका २२ सांसदले कांग्रेस सभापति प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए। त्यसकारण प्रधानमन्त्री देउवा र प्रचण्डले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन्।
हाल नेकपा एमाले विभाजनको संघारमा पुगेको छ । अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपाल पक्षबीच तीब्र मतभेद छ। तर, एकता हुने वा छुट्टिने टुंगो लागिसकेको छैन। एकता जोगाउन भन्दै एमाले कार्यदलका सदस्यहरू लागिरहेका छन्। तर, त्यसले समाधान दिन सकेको छैन।
देउवालाई विश्वासको मत दिने २२ सांसदले सरकारमा सहभागी हुन दवाव दिइरहेका छन्। तर, नेपाल भने एकता के हुन्छ भनेर पर्खिरहेका छन्।
सम्मानजनक एकता भए एमालेमा बस्ने, नत्र अर्को पार्टी खोलेर सरकारमा सहभागी हुने नेपालको तयारी रहेको बुझिएको छ। तर, तत्काल सरकारमा जाँदा नेपाल निकट कार्यदलमा रहेको भीम रावल सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायतले साथ नदिने डर पनि नेपालमा छ।
त्यसकारण नेपालमा ‘पर्ख र हेर’ अवस्थामा छन्। नेपालकै कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ। नेपाललाई सरकारमा सहभागी गराउने अन्तिम प्रयास पनि असफल भएपछि अब देउवा र प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्।
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार सम्भवत सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तार हुनेछ। त्यसका लागि कांग्रेस, माओवादी र जसपाका नेताहरू छलफलमा जुटिसकेका छन्।
‘नेपाल जी पर्ख र हेरको अवस्थामा हुनुहुन्छ। तत्काल सरकारमा सहभागी हुनुहुन्न’, देउवा निकट स्रोतले भन्यो, ‘एमाले एकता भएन भने उहाँ सरकारमा सहभागी हुनुहुन्छ। त्यसपछि गठबन्धनका नेताहरूले फेरि मन्त्रालय बाँडफाँड गरेर टुंगो लगाउनुहुन्छ।’