सामान्यतः कुनै महिलाको पाठेघरमा बच्चा रहन नसक्ने अवस्थामा ती दम्पतिको डिम्ब र शुक्रकिटलाई टेस्ट ट्यूबमा गर्भाधान गराएर भ्रुण विकास गरी अर्को महिला (सरोगेट आमा) को गर्भमा प्रत्यारोपण गरी बच्चा जन्माउने विधि हो सरोगेसी। केही दिनअघि रिलिज भएको बलिउड चलचित्र ‘मिमी‘मा यही सरोगेसी जस्तो अत्यन्त गम्भीर र संवेदनशील विषयलाई ‘मिमी‘ को माध्यमबाट भावनात्मक रूपमा देखाउने प्रयत्न गरिएको छ।
पटकथा र अभिनय
‘मिमी‘ फिल्मको कथा अत्यन्त रोचक, सामयिक, अद्भूत र यथार्थपरक छ। अमेरिकाबाट भारत आएका जोडी जोन र समरको कथाबाट चलचित्र शुरु हुन्छ। ती दम्पत्तीलाई एक यस्तो युवतीको आवश्यकता हुन्छ, जसले भाडामा कोख दिन सकोस्। किनकि उनीहरुसँग सन्तान सुःख प्राप्त गर्न प्राकृतिक रुपमा प्रजनन क्षमता भएको हुँदैन। संयोगवस् उनीहरुको भेट ट्याक्सी चालक भानुप्रताप पाण्डे (पंकज त्रिपाठी) सँग हुन्छ। जब भानुलाई जोन र समर आफ्नो बच्चाको लागि सरोगेसी आमा खोज्दै हुन्छन् भन्ने थाहा हुन्छ, उनले राजस्थानकी २५ वर्षीया एक पेशेवर नर्तकी मिमी (कृति सेनन)सँग अमेरिकी दम्पत्तिको भेट गराउँछन्।
खासमा मिमीको सपना त मुम्बई गएर बलिउडको एक सफल ‘हिरोइन’ बन्ने हुन्छ। तर, गरीबीको कारण उनीसँग पैसाको निकै अभाव हुन्छ। सुरुमा ‘सरोगेट‘ आमा बन्न इन्कार गरेता पनि आफ्नो गर्भमा अरुको बच्चा हुर्काएबापत बीस लाख पैसा पाउने प्रलोभनमा उनी सेरोगेसी सन्तान जन्माउन तयार हुन्छिन्। किनकि, ती पैसाबाट बलिउडको ‘हिरोइन‘ बन्ने उनको सपना पुरा हुन्छ भन्नेमा उनी विश्वस्त हुन्छिन्।
घरपरिवारलाई आफूले गर्भमा बच्चा हुर्काइरहेको थाहा नहोस् भनेर मिमीले एउटा झुटको सहयोग लिन्छिन्। उनले आफुलाई एउटा ठूलो फिल्म सुटिङ गर्ने अवसर प्राप्त भएको र त्यसका लागि नौ महिनाका लागि मुम्बई सहर जानुपर्ने बताउछिन्। आमबुबाले सुरुमा जान अनुमति दिन नमाने पनि, लामो छलफलपश्चात मिमीले सशर्त अनुमति पाउछिन्। र, शहर नगई गर्भमा रहेको बच्चा हुर्काउन उनी आफ्नी मुस्लिम साथी शमा (सई ताम्हणकर)को घरमा रूप परिवर्तन गरेर बस्न थाल्छिन् ।
यसपछि कथामा यस्तो ट्वीस्ट आउँछ कि, भानु र मिमीको जिन्दगीमा त्यसले भुँइचालो नै ल्याउँछ। अमेरिकी दम्पत्ति जोन र समर भारत आएको बखत उनीहरुले चिकित्सकसँग भेट्दा मिमीको कोखमा हुर्किरहेको बच्चा ‘विकलाङ‘ भएर जन्मिने थाहा पाउछन्। त्यसकारण, जोन र समर आफ्नो बच्चालाई मिमीको गर्भमा छोडेर बीचैमा अमेरिका फर्किन्छन्। मिमीको ‘हिरोइन‘ बन्ने सपना त्यही चकनाचूर हुन्छ। यसपछि, कसरी मिमीले आफ्नो बच्चालाई जन्म दिन्छिन् र संघर्ष गर्छिन्, र त्यस घटनाले एक चञ्चली अविवाहित देहाती युवतीमा परेको सामाजिक र मनोवैज्ञानिक असरलाई रोमाञ्चक ढंगले फिल्ममा प्रस्तुत गरिएको छ।
कलाकारहरुको अभिनय फिल्मभरि नै संयमित देखिन्छ। यो चलचित्र कृति सेनन र पंकज त्रिपाठीको वरिपरि घुमेको छ। मिमीको अभिनय दुरुस्त छ। पंकज आफ्नो भूमिकामा निकै डुबेका छन् र यर्थाथपरक लाग्छन्। उनीहरूको केमेस्ट्री राम्रो देखिएको छ। पहावा, सुप्रिया पाठक, साई ताम्हणकर, विदेशी जोडीको रूपमा एवलिन एडवर्ड्स र एडन हाइटक र चलचित्रको ‘सपोर्टिंग रोल‘ मा छन्। सबैले आफ्नो चरित्रलाई जीवन्त बनाएका अनुभूत हुन्छ।
समीक्षकका कुरा
भनिन्छ, सिनेमा दृश्यभाषा हो। सिर्जनशील माध्यम हो। सोही कारण फिल्मको प्रभाव कानसम्म मात्र हुन्छ, मन र मस्तिष्कमासमेत छुन्छ। ‘मिमी‘ फिल्म हेर्दा मैले गरेको अनुभूतिले यसलाई सिद्ध गर्छ।
सरसर्ती हेर्दा ‘मिमी‘ मा केही छैन। किन छैन भने यसमा ठूलो उतारचढाव हुन्न, न सर्वगुण सम्पन्न वलशाली ‘हिरो‘ छ, न खुंखार भिलेन। चमकधमक छैन। तर पनि ‘मिमी‘ ले दर्शकलाई बाँधिराख्छ। त्यसको कारण हो, पात्रमार्फत निर्देशकले स्थापित गर्ने कारुण चित्र। फिल्ममा यस्ता केही ट्वीस्ट तथा मोड मात्र छन्, जसले एकैसाथ हाँस्न र रून बाध्य बनाउँछ। ‘इमोशन‘ र ‘कमेडि‘का सबै अवयवहरु फिल्ममा उपलब्ध छन् भन्न सकिन्छ।
सिनेजगतमा चर्चा गरिन्छ– पर्दामा देखाइने संवदेनाहरु कृत्रिम हुँदै गएका छन्, जे चल्छ, त्यही बनाउने लहड मौलाएको छ। यो निरस माहोलकाबीच ‘मिमी‘ लाई जन्म दिएका फिल्म निर्देशक धन्यवादका हकदार हुन्। फिल्मको पटकथा, अभिनय, छायांकन, सम्पादन, सबै पक्ष सबल छन्। ‘कलात्मक चेत‘ को प्रयोग प्रशंसनीय छ। फिल्मको संवाद चोटिलो छ। सिनेम्याटोग्राफी गजब छ। ब्याकग्राउन्ड म्युजिक अर्थात् पाश्र्वसंगीतले फिल्मको इमोसनल घटनाको मुडअनुसार मूलकथाको भाव बोकेको छ र फिल्मलाई थप गतिशील बनाएको छ।
केही कमजोरी
फिल्मले मिमीको प्रतिनिधिमूलक पात्रको माध्यमबाट यति मात्र भन्छ, सरोगेसीको कारोबार भारतमा एकदमै तीव्र रुपमा बढेको छ। विदेशीले भारतमा सेरोगेसीका लागि युवती खोज्ने विषयको कानुनी पाटोलाई फिल्मले खासै महत्वका साथ उठाएको छैन। हुन त, विदेशी जोडीले फिल्मको उपसंहारमा मिमी र भानुका विरुद्ध ‘लिगल एक्सन‘ लिने धम्की दिएका छन्। कानुन व्यवसायीसँग परामर्शसम्म लिईएको छ। सरोगेसीको यस मुद्दालाई अदालतसम्म पुर्याएर यसप्रतिको न्यायालयको दृष्टिकोण फिल्ममा समेटन सकिनथ्यो। यो सुनमा सुगन्ध हुन्थ्यो। यसरी यसलाई अझ पेचिलो बनाउन सकिन्थ्यो।
सिनेमामा केही नमिल्दा पक्ष पनि छन्। मूल पात्र र एकसरो कथालाई लिएर अगाडि बढ्दा अन्य अवयवहरु निर्जिव बनेको छ। मिमीका साथी शमा र अन्य चरित्रले न्याय पाएको देखिन्न। दर्शकलाई हँसाउन अनावश्यक दृश्य पनि राखिएका छन्। फिल्म हेर्दै जाँदा कुनैकुनै शब्द चयन ठीक भएन जस्तो लाग्न सक्छ। यद्यपि, यी दृश्यले सिनेमाको मूल पक्षलाई हानि गरेको भने छैन।
निर्माताः दिनेश विजन
निर्देशकः लक्ष्मण उतेकर
संगीतः एआर रहमान
कलाकारः कृति सेनन, पंकज त्रिपाठी, मनोज पाहवा, सुप्रिय पाठक
अवधिः दुई घण्टा १२ मिनेट २८ सेकेन्ड
रेटिङः