काठमाडौं — नेकपा (माओवादी केन्द्र) ले यही साउन ३० गतेसम्म पार्टीका सबै वडा समिति गठन गरी त्यसको यथार्थ विवरण केन्द्रीय कार्यालयमा उपलब्ध गराउन केन्द्रीय सदस्यलाई निर्देशन दिएको छ ।
पार्टी सङ्गठनलाई चुस्त, दुरुस्त तथा व्यवस्थित बनाउन सबै वडासमिति गठन, पुनःगठन गरी यथार्थ विवरण तयार पार्न निर्देशन दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकले पाँच दलीय गठबन्धनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । संविधान र लोकतान्त्रिक मूल्य र मान्यताका लागि स्थापित भएको गठबन्धनलाई देश र जनताको पक्षमा थप प्रभावकारी बनाउँदै देश र जनताको पक्षमा क्रियाशील बनाउने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
यस्तै, गठबन्धनको घटक नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको वर्तमान सरकारलाई जनपक्षीय बनाउनका लागि आफनो तर्फबाट पहल गर्ने माओवादी केन्द्रले जनाएको छ ।
माओवादी केन्द्रले महाकाली नदीमा तुइन तर्ने क्रममा बेपत्ता भएका जयसिंह धामीका विषयमा छानबीन गर्न सरकारसँग माग गरेको छ ।
केही दिनभित्रै सरकार विस्तार हुने
माओवादी केन्द्रले केही दिनभित्रै सरकार विस्तार हुने विश्वास व्यक्त गरेको छ ।
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आवश्यक निर्णय गरिसकेको तथा वैधानिकको विषयसमेत टुङ्गिइसकेको र अन्य दललेसमेत आवश्यक निर्णय दिने अन्तिम तयारी गरेकाले सरकार विस्तारमा बिलम्ब नहुने प्रवक्ता श्रेष्ठको भनाइ छ ।
आजै सरकार विस्तारका बारेमा अध्यक्ष दाहालले गठबन्धनका सबै दलसँग छुट्टाछुट्टै तथा सामूहिक छलफल गर्ने कार्यक्रम रहेको छ ।
गठबन्धनमा सहभागी राष्ट्रिय जनमार्चाले सरकारमा नजाने निर्णय गरिसकेको छ । यस्तै, नेकपा(एमाले)को माधवकुमार नेपाल समूहले पनि छिट्टै आफनो निर्णय दिने तयारी गरेको छ ।
मन्त्रिपरिषद्मा पार्टीको तर्फबाट पठाउने नेताहरुको बारेमा निर्णय गर्न सोमबार ३ बजे पुनःस्थायी समितिको बैठक बस्नेछ ।