वीरगंजको भवानी अस्पतालमा तोफोड गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
प्रहरीले वीरगञ्ज महानगरपालिका–२० का ३२ पर्षिय राकेश राम, ४४ वर्षिय सुरेश राम, २२ वर्षिय अक्षय राम र बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं १ का २८ वर्षिय भीम रामलाई पक्राउ गरेको हो।
बीरगंज महानगरपालिकाको वडा नं ८ लिंक रोडमा रहेको भवानी अस्पतालले जीउदै मान्छेलाई मृत घोषित गरेको भन्दै उनीहरुले अस्पतालमा तोडफोड गरेका थिए।
अस्पतालको ग्यालरीमा रहेको शिशामा तोडफोड गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए। उनीहरुको अस्पतालको साइनबोड समेत फालीदिएका छन।
फूटेको शिशाले लागेर बिरामीका एक जना कुरुवाको निधारमा पनि चोट लागेको छ। अस्पतालका प्रवन्ध निर्देशक राम श्रेष्ठका अनुसार मृतकका आफन्त र गाउँलेहरुले अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि समेत आक्रमण गरेका छन्।
उनीहरको आक्रमणबाट बीरगंज महानगरपालिका वडा नं १५ निवासी ३२ वर्षिय नर्स कविता चौधरी र वीरगंज महानगरपालिका वडा नं १३ निवासी २७ वर्षिय चिकित्सक बिजय महतोलाई चोट लागेको छ। उनीहरुको अस्पतालमै उपचार भएको छ।
अस्पतालमा तोडफोड भएको सूचना पाएपछि पुगेको प्रहरी र प्रदर्शनकारीबीच समेत केहिबेर झडप भएको थियो। प्रहरीले लाठीचार्ज गरेर भीडलाई तितर वितर पारेको थियो। उनीहरुका बिरुद्ध अस्पतालले जाहेरी दिने तयारी गरेको प्रवन्ध निर्देशक श्रेष्ठले जानकारी दिए।
प्रहरी नियन्त्रणमा रहेका चारै जनासंग आवश्यक सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता खनालले जानकारी दिए। अस्पतालका निर्देशक रामराज श्रेष्ठका अनुसार पहिल्यैदेखि मुुटु रोगबाट ग्रसित ३२ वर्षीया रमितादेवीलाई उपचारका लागि आइतबार बिहान १० बजेतिर अस्पताल ल्याइएको थियो।
चिकित्सकले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो। अस्पतालले मृत घोषणा गरेपछि आफन्तले अन्तिम संस्कारका लागि लिएर गएका थिए। तर १ बजेतिर रमितालाई पुनः अस्पतालमा फिर्ता ल्याई आफन्त र गाउँलेले जिउँदो मानिसलाई मृत घोषणा गरेको भन्दै तोडफोड गरे।
मृत महिलालाई अन्तिम संस्कारकालागि बीरगंज महानगरपालिका २० मा रहेको मनियारी लगिएको थियो। संस्कार पूर्व स्नान गराउने प्रचल छ। त्यही बेलामा मुख चलेको जस्तो लागेपछि आफन्तले महिलालाई पून अस्पताल पुरयाएका थिए।
अस्पतालले फेरी पनि सबै परिक्षण गरेर मृत घोषणा गरेको थियो। मृतकका परिवारले कुरा बुजेका थिए तर मलामी जान तयार भएका ब्यक्तिहरुको भिडले कुरा नबुझी एक्कासी तोडफोड गरेको अस्पतालका प्रन्धक श्रेष्ठले जानकारी दिए।
प्रहरी समयमै आएर स्थितिलाई नियन्त्रणमा लिएकोले थप क्षति हुन नपाएको निर्देशक श्रेष्ठको भनाइ छ।