काठमाडौं — स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने र मन्त्री पदमा रहञ्जेल आफू संग्लग्न रहेको व्यावसायिक संस्थाबाट अलग हुने घोषणा गरेका छन् ।
सोमबार मन्त्रालयमा आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले सो घोषणा गरेका हुन् । तर सुरक्षाकर्मी भने लिने उनले बताए ।
उनले सार्वजनिक गरेको १०० दिनको कार्ययोजनामा खोपको वितरण तथा व्यवस्थापनमा बढी जोड दिइएको छ ।
कांग्रेसका सांसद श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले साउन १० गते आइतबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनाएका थिए । कसैसँग छलफल नै नगरी देउवाले श्रेष्ठलाई मन्त्री बनाएपछि सत्तारुढ गठबन्धन, पार्टीभित्रै तथा बाहिर आलोचना भएको थियो ।
श्रेष्ठको स्वास्थ्य, शिक्षा, कृषि तथा जलविद्युतलगायत क्षेत्रमा लगानी छ ।