केही समयअघि एउटा जुम बैठकमा एक नेताज्युले आफूभन्दा फरक विचार राख्नेप्रति निरन्तर रुपमा आक्रोश पोखिरहे। बैठक संयोजकले उनलाई त्यसरी कसैप्रति व्यक्तिगत नहुन र मुद्धामा केन्द्रित हुन बारम्बार आग्रह पनि गरे। तर, ती व्यक्तिले बैठक संयोजकको हरेक पटकको अनुरोध लत्याइरहेपछि मलाई असह्य भयो र मैले लेखें, ‘के यो व्यक्तिलाई आक्रमण गर्ने बैठक हो र? मैले लेखेको देखेर ती व्यक्तिले भने, ‘ओ प्रतिभाजी, तपाईंले लेखेको देखे! तपाईं को हो? महारानी?’ हामीबीचको उक्त संवादमा हामी दुवै जना प्रतिक्रियात्मक भएकाले म यहाँ आफूलाई ठीक र उहाँलाई बेठीक भन्दिनँ। तर, उक्त संवादले मेरो मनमा एउटा आशंका चाहिँ जाग्यो– यही अभिव्यक्ति कोही उच्च पदस्थबाट आएको भए के यस्तै प्रतिक्रिया आउँथ्यो?
यसलाई मिहिन ढङ्गले हेर्दा महिलाले पार्टीभित्र आफ्नो विचार निष्फिक्र राख्न सक्दैनन् र उनीहरुले राखेको फरक विचार पुरुष नेताहरुलाई पाच्य हुँदैन भन्ने झल्को आउँछ। पार्टीभित्रका केही साथीहरु पनि बेलाबेला हैसियतको कुरा गर्नु हुन्छ र मर्यादाक्रमको, अनुशासनको कडा वकालत गर्नुहुन्छ। के यसप्रकारले सदस्यहरुबीचको सम्बन्धलाई निश्चित रोलक्रमअनुसार हैसियतमा रहेर सहभागिता जनाउन अपेक्षा गरिएको समूहको प्रक्रिया प्रगतिशील र फलदायी हुनसक्छ? के यसरी तोकिएको मर्यादाक्रमको आधारमा कसैको अभिव्यक्ति र सहभागितालाई सङ्कुचन गर्नु समग्र समूहको हीतमा छ?
शक्ति, पद वा ओहदाको आधारमा व्यक्तिको हैसियत निर्धारण गर्नु र त्यसैको परिधिभित्र मात्र उसको गतिविधि र अभिव्यक्तिलाई सङ्कुचन गर्न खोज्नु विभेद नै हो। विभेद रहुञ्जेल सामजिक न्याय स्थापना हुन सक्दैन र सामाजिक न्याय स्थापना नहुन्जेल लोकतन्त्रलाई सफल मान्न सकिन्न। मेरो विचारमा लोकतान्त्रिक व्यवस्था तब मात्र सफल हुन्छ, जब हरेक व्यक्तिले आफ्नो क्षमता र सोचलाई सामूहिक सहकार्यमा स्वतन्त्रतापूर्वक अभिव्यक्त गर्दै सक्रिय सहभागिता जनाउँछ। यसले व्यक्ति र समूहको परस्पर विकास सम्भव हुन्छ। यस प्रकारको सहभागिताको सम्भावनाका लागि आत्मसम्मान र समानताको जगमा बनेको साममूहिक भावसहितको वातावरण आवश्यक हुन्छ।
लोकतन्त्र स्थापना भएको यति लामो समय भइसक्दा पनि देशमा आशातित विकास हुन नसक्नुमा स्वतन्त्रता र समानताको सिद्धान्तमा आधारित सामुहिक सहभागिताको कमी नै हो जस्तो लाग्छ। जातीयता र वर्गीयताको आधारमा मर्यादाक्रम र त्यही अनुसार हरेक व्यक्तिको उपस्थिति र सहभागिताको सङ्कुचन गरिएको हाम्रो समाजमा लोकतन्त्र हुँदै गणतन्त्रको स्थापना भइसकेको अवस्थामा पनि लामो समयदेखि शासित नागरिकमा आफ्नो मानसपटलबाट त्यो विभेदपूर्ण सम्बन्ध र भूमिका हट्न नसकेको स्पस्ट देखिन्छ।
फलस्वरुप आजको दिनमा जनप्रतिनिधिहरुलाई नागरिकले शासकसरह व्यवहार गरेको र जनप्रतिनिधिले पनि पुराना सामन्तीको नक्कल गरेर ठालु पल्टेको छरपष्ट देखिन्छ। यसप्रकारको शासक र शासितको सम्बन्धलाई हरेक नेपालीको अवचेतनबाटै पूर्ण रुपमा नतोडेसम्म देश निर्माण र राज्यको क्रियाकलापमा नागरिकको सहभागिताको बाटो अत्यन्त साँघुरो हुन जान्छ।
विभेदपूर्ण मानसिकताको जन्म कहाँबाट हुन्छ? अत्यन्त सरल रुपमा हेर्दा समस्या मानिसको निरन्तर तुलना गर्नुपर्ने आदत अनि सुख र सफलता भनेको अर्कोलाई पछि पार्नु हो भन्ने सोचमा छ। तुलनात्मक रुपमा अरुलाई उछिन्दै अरुभन्दा सम्पन्न, महत्वपूर्ण र राम्रो हुने चाहना एक जटिल मनोसामाजिक रोग नै हो। यसले ग्रसित हुँदा मानिस निरन्तर अरुप्रतिको दमन, अविश्वास, भय र द्वन्दमा बाँचिरहेको जस्तो देखिन्छ। साँच्चै भन्नुपर्दा यस मापदण्ड अनुरुप सफलताको दौड दौडँदै गर्दा मानव समाजबाट संमवेदना नै हराएको जस्तो देखिन्छ। साथै, यसले दमन गर्ने र दमन व्यहोर्ने दुवै पक्षलाई उच्चतम मानवीय सम्भावनाबाट पनि पर धकेलेको मात्रै छैन, समग्र विश्व समाजलाई सौहार्दपूर्ण र प्रगतिशील हुनबाटै रोकिरहेको छ।
नेपालको सन्दर्भमा, यस सामाजिक रोगलाई लैङ्गिक र जातीय आधारमा बनेको संरचनागत विभेदले झनै जटिल बनाएको छ। सदियौंदेखि महिलालाई दोस्रो दर्जाको मान्छे र दलितलाई अमान्छे भन्दै शासन गरिएको छ भने जनजातिहरुलाई पनि समाज र राज्यबाट शक्तिहीन बनाइएको छ। तसर्थ, देश निर्माणमा हरेक तह र तप्काबाट स्वतन्त्र र समान सहभागिता निस्तेज हुन पुगेको देखिन्छ। कथित उच्च वर्ग वा अग्राधिकार प्राप्तहरुबाट पनि लामो समय यही विभेदकारी शक्ति संरचनालाई कायम गर्न वा यथास्थितिमा राख्न ओहोदा, उर्जा र श्रोतको दुरुपयोग भएको देखिन्छ र अझै पनि यसलाई तोड्न सङ्घर्ष चलि नै रहेको छ।
हरेक सामाजिक समस्याको समाधान दिनुपर्ने शिक्षाले नै विभेदपूर्ण सामाजिक व्यवस्थालाई निरन्तरता दिन सहयोग गरेको देखिन्छ। यसको एक पक्ष धनी र गरीबले प्राप्त गर्ने शिक्षाको फरक गुणस्तर हो। त्यस्तै समाजको विकासक्रसँगै यसले रुप पनि फेर्दै गरेको देखिन्छ।
केही दिनअघि आजको युगमा प्रविधिमैत्री शिक्षाको वकालत गर्नु हुने एक मित्रलाई मोरङकी एक १४ वर्षीय बहिनीले आफ्नो युट्युब च्यानल मार्फत मासिक साठी हजार कमाई गर्ने गरेको कुरा म्यासेज गरेँ। मैले यो खबर आफ्नो फेसबुकबाट थाहा पाएकी थिएँ। मैले पठाएको म्यासेजमा उहाँको प्रतिक्रिया आयो– ‘ग्रेट! यो हो नि हामीले खोजेको पुस्ता!’ कुनै दिन यसै गरि पण्डित्याइँ गर्न जान्ने, वेद वेदान्तको ज्ञान भएकोलाई ज्ञानी मानियो र अन्य किसिमका सीप र क्षमता भएका सर्जकहरुलाई चाहिँ तुच्छ। शिक्षा आर्जन गर्नुको उदेश्य नै सिर्जना र श्रमदेखि अलग्गिएर आफूलाई ठालु स्थापित गर्नु हो जस्तो हुन गयो। जसकारण सर्जक र श्रमिक वर्गको दमन मात्रै नभइ हामीमा श्रमलाई सम्मान गर्ने संस्कार नै बसेन। हामीमा श्रमलाई सम्मान गर्ने संस्कार नै नभएपछि हामीले परम्परागत ज्ञान र सीप गुमायौँ र देश सधैँ खोक्रो पण्डित्याइँको भुमरीमा फसिरह्यो। जसको दुस्परिणाम हामी आजसम्म भोग्दैछौँ।
जसरी कुनै बेला सीप र सिर्जनाको कामलाई तुच्छ र वेद पाठको कामलाई उच्च ठानियो, त्यसैगरि अहिलेको मानिसमा कम्प्युटरको काम विशिष्ट र त्यस बाहेकका काम कमसल भन्ने भ्रम सिर्जना हुँदै गएको छ। यसलाई समयमै चिर्न आवश्यक छ। भविष्यमा नयाँ खाले असमानता र विभेदको सृजना हुन नदिन व्यक्तिलाई रोलक्रममा राख्ने कुनै पनि खाले ट्यागलाई बहिस्कार गर्नु जरुरी छ। अहिले हरेकको पहुँचमा प्रविधि पुग्नु एउटा महत्वपूर्ण पाटो हो भने अर्को पाटो प्रविधिमा खासै रुचि नराख्ने र फरक ढङ्गले अघि बढ्ने वा बढ्न चाहनेलाई पनि समान रुपले सामाजिक सहकार्यमा सहभागी बनाउनु अर्को महत्वपूर्ण पक्ष हो।
हार्वर्ड युनिभर्सिटीका प्रोफेसर डेभिड गार्डनरले ‘फ्रेम्स अफ माइण्डः द थिअरी अफ मल्टिपल इन्टेलिजेन्स ‘पुस्तक मार्फत मानिसको बौद्धिकता एकै किसिमको हुँदैन भन्दै बहु–बौद्धिकता (मल्टिपल इन्टेलिजेन्स) को सिद्धान्त अघि सारेका छन्। जसअनुरुप तार्किक र गणितीय हिसाबले जाचिने बौद्धिक क्षमता अपुरो भएको तर्क र प्रमाण अघि सारिएको छ।
गार्डनरले यसमा मानिसको तार्किक, भाषिक, सांगीतिक, शारीरिक आदि सहित नौ वटा बौद्धिकताको धारणा अघि सारेका छन्। उनका अनुसार एक व्यक्तिमा यी मध्येका दुई वा दुईभन्दा बढी अन्तरनिहित बौद्धिक क्षमताको समिश्रण हुन्छ, जसलाई अवसरहरुले निखार्न सकिन्छ। तसर्थ तार्किक र गणितीय क्षमता नभएको व्यक्तिलाई बौद्धिकताविहीन भन्न मिल्दैन। यसमा थप अध्ययन जारी छ र मानिसका क्षमताका प्रकार असीमित छन्।
एउटा समाजलाई पूर्ण बनाउन हरेक किसिमको सीप र क्षमता भएको व्यक्तिको महत्व हुन्छ। यहाँ जति डाक्टरको आवश्यकता हुन्छ, त्यति नै कृषकको र त्यति नै कलाकारको आवश्यकता हुन्छ र अन्य कुनै नयाँ सीप भए त्यसलाई पनि समाहित गरेर समाजलाई सम्बृद्ध बनाउन सकिन्छ। यो कुरा नबुझ्नाले कुनै एक सीप भएको व्यक्ति विशेष गर्व गर्ने र कुनै सीप भएको व्यक्ति हीनताबोधमा बाँच्ने अवस्था रहेको देखिन्छ। त्यसले उक्त व्यक्तिको विकासमा मात्र अवरोध पुग्दैन, उसको सिर्जना क्षमतामा ह्रास आएर समग्र समाजलाई दिने योगदानमा पनि अवरोध पुग्छ।
कुनै प्रकारको श्रेष्ठता वा हीनताको बोध बिना हरेक व्यक्तिको उच्चतम् अन्तरनिहित सिर्जनात्मकताको विकास गर्दै सबैसँग सौहार्दपूर्ण सहकार्यमा जीवन बाँच्ने संस्कार, प्रवृति र वातावरणको विकास गर्न सहयोग गर्नु अबको शिक्षाको उदेश्य हुनुपर्छ।
पृथ्वीलाई अन्तरीक्षबाट हेर्दा पृथ्वीका हरेक साना ठूला जीवहरु कसरी जेलिएर समग्र जीवन प्रणाली निर्माण भएको छ भनेर देखिने र त्यसले एक प्रकारको चेतनामा पूर्ण रुपान्तरण नै भएको महसुस हुने र यस जीवित ग्रह तथा यहाँका सम्पूर्ण प्राणी ग्रहप्रति गहिरो प्रेम र अनुग्रह अनुभुत हुने कुरा नासाका सबैजसो अन्तरीक्ष यात्रीहरुले आफ्नो अनुभव सुनाउने क्रममा भनेका छन्। नासाले यसलाई ‘ओभर भियु इफेक्ट’ अर्थात् टाढाबाट पूर्णता वा भनौँ समग्रतालाई हेर्दा हुने प्रभाव भनेर भनेको छ। मलाई लाग्छ, नासाका ती अन्तरीक्ष यात्री पक्कै पनि मानिसहरुको एक अर्कालाई जित्नुपर्ने, बल र बुद्धि प्रयोग गरेर अरुलाई तल पार्न समय, शक्ति र उर्जा व्यय गर्नुपर्ने ‘अन्धता’को निरर्थकता र खतरालाई राम्ररी महसुस गर्न सक्छन्।
हरेक चीजलाई र व्यक्तिलाई रोलक्रममा राख्नु अप्राकृतिक छ। यहाँ सबै एक अर्कासँग सम्बन्धित र अन्तरनिर्भर छन्। समग्रको विकासमा नै एक एक व्यक्तिको विकास पनि जोडिएको छ। त्यसै गरी हरेकको अधिकतम विकास समग्रको विकासको आधार पनि हो। यस अर्थमा मानिसले एक अर्कासंग तँछाडमँछाड गरेर प्रतिस्पर्धा गर्नु र अर्को पक्षलाई पछि पार्नु नै सुख र सफलताको आधार मान्नु घोर मुर्खता हो। यसरी साघुरो दृष्टि राख्नाले र एक अर्कालाई पछि पार्न गरिएको भौतिक विकासको दौडले आज हाम्रो साझा घर पृथ्वीमा अतुलनीय पर्यावरणीय क्षति व्यहोर्दै जलवायु परिवर्तन अत्यन्त गम्भीर अवस्थामा पुगी समग्र मानव जातिकै अस्तित्व सङ्कटमामा पुगेको छ। अझै पनि मानिस हाम्रो साझा घरलाई सबैले मिलेर कसरी बचाउने भन्दा पनि कसरी भौतिक विकासमा एक अर्कालाई पछि पार्ने भन्ने दौडमा नै अन्धो भएर दौडिरहेको छ।
यस हिसाबले हेर्दा सहअस्तित्व बोधको सामाजिक चेतना, शिक्षा र राजनीतिक दर्शनले सामाजिक, राजनैतिक एवम पर्यावरणीय समस्याको दीगो समाधान दिन सक्छ। सहअस्तित्व अर्थात् सम्पूर्ण जीवन जगतको मूल प्रकृति; अर्थात सबैजनाको अस्तित्व मिलेर बनेको सामूहिक अस्तित्व; अर्थात् सबै अस्तित्व परस्परमा प्रतिस्पर्धी होइन कि पुरक हुन्।
यसरी हेर्दा बुझिन्छ कि हरेकको अस्तित्वको आफ्नै महत्व छ र हरेक अस्तित्वले पूर्णतालाई पूर्ण हुन सहयोग गर्छ। कसैले पनि आफुलाई स्वतन्त्र रुपले अभिव्यक्त गर्दै गर्दा वा आफ्नो अधिकतम विकासको लागि अग्रसर हुदा गर्दा अरु कोहि असहज मान्नु आवश्यक छैन। बरु एक अर्कालाई अभिव्यक्त हुन र निरन्तर विकसित हुन सघाउनु चाहिँ हाम्रो प्रकृति निहित चरित्र हो। सामाजिक संरचना वा अन्य कुनै कारणले जो पछि परेका छन्, उनीहरुलाई अघि बढ्न र सबैलाई साथै हिँड्न सहयोग गर्नु भनेको आफु पछि पर्नु होइन। किनकि समग्रताको हीतमा नै एकको हीत जोडिएको छ। सबैलाई बोध होस् ।
लेखिका प्रतिभा डंगोल विवेकशील साझा दलकी सचिवालय सदस्य हुन्।