राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माफी मागेका छन्। आफ्नो अभिव्यक्तिलाई लिएर विवाद भएपछि उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट लेख्दै माफी मागेका हुन्।
उनले एकसाताअघि एउटा अन्तर्वार्तामा नेपालमा खेलाडीसँगै पदाधिकारीहरुको मानसिकता पनि परिवर्तन हुनुपर्ने अभिव्यक्ति दिएपछि उनी विवादमा तानिएका थिए। उनको अभिव्यक्तिलाई लिएर अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ लगायतले आपत्ति जनाउँदै मुख्य प्रशिक्षकले यसरी बोल्नु अनुशासन उल्लंघन गर्नु भएको भन्दै उनलाई कारवाहीको माग गरेका थिए।
प्रशिक्षक अल्मुताइरीले भने आफूले पछिल्लो तीन दशकमा नेपाल र अरु एसियाली देशको फुटबल कसरी भएको छ भन्ने मात्र बताउन खाजेको स्पष्टीकरण दिएका छन्। ‘मेरा शुभेच्छुक र फुटबललाई माया गर्ने परिवारसँग छलफल गर्दा मेरो भनाइको गलत अर्थ लागेको महसुस भएको छ। त्यसप्रति म क्षमा चाहन्छु ।’ उनले फेसबुकमा लेखेका छन्।