प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज मंगलबार भेटवार्ता हुने भएको छ ।
त्यसका लागि दोस्रो तहका नेताहरू लागिपरेका छन् । तर, अहिलेसम्म ओली–नेपालबीच भेट हुने समय र स्थानको टुंगो लागेको छैन ।
नेकपा एमालेका स्थायी समिती सदस्य सुवासचन्द्र नेम्वाङले पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचमा भेट हुने बताए ।
विघटित कार्यदलका सदस्यहरुको नियमित अनौपचारिक संवाद र हलका कारण दुई नेता भेटवार्ताका लागि तयार भएका हुन् । भेटवार्तामा दुई नेताहरुबीच आन्तरिक विवादको न्यूनतम सहमतिका विषयमा छलफल हुने बताइएको छ ।
पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक विवाद वार कि पार लगाउन निर्देशन दिएका थिए ।
एमाले वरिष्ठ नेता नेपालले पनि पछिल्लो समय सरकारमा सहभागी हुनेभन्दा पनि पार्टी एकतालाई नै जोड दिएको बताइएको छ । नेता नेपाल पक्षको स्थायी कमिटी बैठकले पनि पार्टी एकतामै जोड दिंदै वार्ताका लागि तयार हुन नेता नेपाललाई सुझाएको थियो ।
पार्टी अध्यक्ष ओलीसँगको भेट अघि नेता नेपालले संस्थापन पक्षका नेम्वाङ र विष्णु पौडेलसँग भेट गरिसकेका छन् ।
ओलीलाई भेट्ने तयारी भइरहेका बेला मंगलबार बिहानै नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच गोप्य भेटवार्ता भएको बताइएको छ ।