गत साता नेपाल प्रहरीले सञ्चालन गरेको ‘प्रि–स्याट’ परिक्षाको प्रश्नपत्र ‘लिक’ भएको पाइएको छ। यो परिक्षा संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनमा जानका लागि प्रहरीले आन्तरिक परीक्षाको रुपमा लिने गर्छ।
साउन १५ र १६ मा प्रहरी प्रधान कार्यालय तथा ७ वटा प्रदेश प्रहरी कार्यालयमा ‘प्रि–स्याट’ परीक्षा सञ्चालन भएको थियो। परीक्षा हुनुभन्दा दुई दिन अघि नै प्रश्नपत्र ‘लिक’ भएको छानविनका क्रममा पत्ता लागेको छ।
प्रहरी प्रधान कार्यालयले डिआईजी वसन्त लामाको नेतृत्वमा छानविन समिती गठन गरेर शंकास्पदहरुसँग बयान लिइरहेको छ। बिहिबार समितीले प्रहरी हवल्दार कुमार शाहसँग बयान लिएको छ।
८ वर्ष प्रहरी प्रधान कार्यालयको युएन शाखामा बसेर केही समयअघि मात्र साइबर ब्यूरोमा सरुवा भएका शाहले डिएसपी रुपेश खड्कालाई शान्ति मिसनको प्रश्नपत्र दिएको बयान दिएका छन्।
‘डिएसपी सा’पलाई मैले नै प्रश्नपत्र दिएको हुँ,’समितिसँगको बयानमा उनले भने। यसअघि युएन शाखामा बसेका खड्का र शाहको बिचमा पुरानो चिनजान थियो। समितिले युएन शाखामा कार्यरत डिएसपी बासु पाठक सहित दर्जन प्रहरी अधिकारीहरूसँग बयान लिएको छ।
हवल्दार कुमार शाह र युएन शाखामा कार्यरत परिचर सुरेश बमलाई समितिले आन्तरिक नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको छ। उनीहरूलाई नक्सालस्थित सशस्त्र प्रहरी गण नम्बर–१ मा आन्तरिक थुनामा राखिएको छ।