राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक भएको छ। बोर्डको आज बसेको बैठकले चार लाख ८४ हजार २७८ विद्यार्थीेको नतिजा सार्वजनिक गरेको परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिएका हुन्।
नतिजा सार्वजनिक गर्दा बोर्डले यस वर्ष पनि कति विद्यार्थीले कुन जिपए पाए भन्ने विवरण भने सार्वजनिक गरेको छैन। नतिजा सार्वजानिक गर्दै परीक्षा नियन्त्रक अधिकारीले भने, “यस वर्ष बोर्डले कति विद्यार्थीले कुन जिपिए ल्याए भने छुट्याएनौँ, जिल्लाबाट प्रमाणीकरण भएर आएको मूल्याङ्कनको नतिजालाई नै बोर्डले प्रमाणीकरण गरेको छ।”
विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्याङ्कन सङ्कलन गरी बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गरेको छ। कोरोना भाइरस सङ्क्रमण बढेपछि यस वर्ष विद्यार्थीको भौतिकरुपमा परीक्षा सञ्चालन नगरी विद्यालयको आन्तरिक मूल्याङ्नका आधारमा एसईईको नतिजा सार्वजनिक गरेको हो।
नतिजा बोर्डको वेबसाइट, एसएमएस र आइभीआरमार्फत प्राप्त गर्न सकिने उहाँले बताउनुभयो । बोर्डले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा नेपाल टेलिकमको १६००, एनसेलको, १६००, अन्य विभिन्न कम्पनीको ३४९४९, ३१००३, ३५००१ मा एसएमएस गरेर हेर्न सकिने व्यवस्था गरेको छ।
नतिजाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.soce.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै शिक्षा मन्त्रालयको www.moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको www.doe.gov.np, राष्ट्रिय परीक्षा वोर्ड सानोठिमी भक्तपुरको www.neb.gov.np र एनसेल प्रा. लि.को www.ncell.axiata.com मा गएर पनि परीक्षाको नतिजा हेर्न सकिने बोर्डले जनाएको छ।