ललितपुरको हिमालय कलेज अफ इन्जीनियरिङ कलेजमा आन्दोलनरत विद्यार्थीहरुमाथी प्रहरीले बल प्रयोग गरेको छ।
महामारीका कारण अनलाईन कक्षा सञ्चालन भएका कारण क्याम्पस शुल्कमा छुट माग्दै आन्दोलनमा उत्रिएका विद्यार्थीमाथी महानगरिय प्रहरी परिसर ललितपुरअन्तरगत बालकुमारी र मगंलबजारबाट खटिएको प्रहरी टाेलीले लाठी प्रहार गर्दै बल प्रयोग गरेको हो।
‘हामी प्रिन्सीपलको कोठामा बसेर शान्तिपुर्ण तरिकाले कुरा गरिरहेका थियौँ,’ आन्दोलनरत विद्यार्थी विवेक ज्ञवालीले नेपाली पब्लिकसँग भने, ‘प्रहरीहरु अचानक भित्रै आएर लठ्ठीले हान्दै बाहिर निकाले।’
विद्यार्थीहरु ६ दिनदेखी आन्दोलनरत छन्। उनीहरुले गत १७ गते व्यवस्थापनलाई ३ बुँदे मागपत्र समेत बुझाएका थिए। ‘छलफल गर्नका लागि भनेर हामी १० बजे बिहान नै आइपुगेका थियौ,’ ज्ञवालीले भने, ‘सरहरु चाँहि ४ बजेमात्र आइपुग्नुभयो तर हामीसँग कुरा नै गर्न आनाकानी गरिरहनुभयो।’
महानगरिय प्रहरी परिसर ललितपुरकी प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी किरण बज्राचार्यका अनुसार आन्दोलनरत विद्यार्थीहरुले २ जना शिक्षकलाई क्याम्पसभित्र थुनेर राखेका कारण उद्वार गरिएको हो। उनले शिक्षकहरुलाई विद्यार्थीको नियन्त्रणबाट निकाल्नका लागि बल प्रयोग गर्नुपरेको बताइन्।
‘उहाँहरुको आन्दोलन आफ्नो ठाँउमा छ,’ एसएसपी बज्राचार्यले नेपाली पब्लिकसँग भनिन्, ‘यस्तो कोरोनाको समयमा कसैलाई थुनेर राख्न त भएन नि।’
यता विद्यार्थीहरुले भने कसैलाई बन्धक बनाएर नराखेको बताएका छन्। ‘क्याम्पसका तीन जना निर्देशकमध्ये एकजना सुगरको बिरामी हुनुहुन्थ्यो, त्यसैले उहाँ पहिल्यै घर जानुभयो। प्रहरी आँउदा एकजना निर्देशक बाहिरै हुनुहुन्थ्यो, प्रिन्सीपल सरलाई चाँहि प्रहरी आएर वार्ता नसकिदै लैजान लाग्दा हामीले मानवसाङ्लो बनाएर रोक्ने प्रयास गरेका हौ।’
क्याम्पसका प्रिन्सीपल किशोर गौतमले विद्यार्थीहरुले आफुँहरुलाई अबेर रातीसम्म रोकेर राखेको हुँदा प्रहरीले हस्तक्षेप गर्नुपरेको बताए। ‘विद्यार्थीहरुले बोलाएपछी हामी छलफल गर्न आयौँ,’ उनले भने, ‘तर, ५०–१०० जना मिलेर २–३ जनालाई रोकेपछी प्रहरी आएको हो।’
प्रिन्सीपल गौतमले क्याम्पसले गतवर्ष १५ प्रतिशत छुट दिएको र यस पटक पनि १० प्रतिशत छुट दिन तयार रहेको जानकारी दिए।