त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना परीक्षाहरु स्थगीत नगर्ने भएको छ।
हाल चलिरहेको स्नातक प्रथम वर्षको परीक्षा यही साउन २९ गते सकिने भएकाले परीक्षा नरोकिने त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए।
कोरोना तेस्रो लहरको जोखिम बढेको भन्दै कक्षा–१२ को परीक्षा स्थगित भएपछि विश्वविद्यालयका परीक्षा पनि रद्द हुनेबारे चासो बढेको बेला नियन्त्रक जोशीले सीसीएमसीलाई जानकारी दिएरै परीक्षालाई निरन्तरता दिइएको बताएका छन्।
स्नातक तह प्रथम वर्षको व्यवस्थापन र विज्ञान विषयको परीक्षा सम्पन्न भएको र मानविकी तथा सामाजिक संकायको परीक्षा मात्रै बाँकी रहेकोले त्यो पनि साउन मसान्तभित्र सकिने हुँदा परीक्षालाई निरन्तरता दिएएको उनले बताए।
अन्य विषयको परीक्षा कहिले हुने र कुन विधिबाट गर्ने भनेर टुंगो लगाउन परीक्षा सुधार र त्रिवि परीक्षा बोर्डका पदाधिकारीको छुट्टाछुट्टै बैठक बसेर निर्णय गरिने उनले बताए। यसका लागि अहिले बोर्डको बैठक बसिरहेकाे छ।