झापाको भद्रपुर नगरपालिका–३ स्थित अरनिको माध्यमिक विद्यालयको निर्माणाधीन भवन अलपत्र भएको छ। भारत सरकारको आर्थिक सहयोगमा सात वर्षअघि निर्माण शुरु भएको विद्यालय भवनको निर्माण अधुरो छाडेर दुई वर्षदेखि निर्माण कम्पनीका ठेकेदार सम्पर्कविहीन बनेपछि विद्यालयको सो निर्माणाधीन भवन अलपत्र भएको हो।
विसं २०२४ मा स्थापना भएको अरनिको माविको भवन स्तरोन्नतिका लागि भारतीय दूतावासले रु चार करोड २१ लाख आर्थिक सहयोग गरेको थियो। विसं २०६७ मा रू तीन करोड ८६ लाखमा काठमाडौँको राजधानी कन्स्ट्रक्सनले भवन निर्माणको ठेक्का लिएको थियो। ठेक्का लिएको चार वर्षपछि २०७१ चैतदेखि भवन निर्माणको काम शुरु गरेको विद्यालयका प्रधानाध्यापक पुरुषोतम खरेलले बताए।
तत्कालीन झापा जिल्ला विकास समितिको प्राविधिक रेखदेखमा शुरु भएको सो विद्यालय भवनको निर्माण विगत दुई वर्षदेखि भने ठप्प रहेको उनले बताए। राजधानी कन्स्ट्रक्सनले भवन निर्माणको ठेक्का लागेपछि १८ महिनामा निर्माण सक्ने सम्झौता भए पनि हालसम्म सात वर्षमा ४७ प्रतिशत मात्र काम भएको विद्यालयले जनाएको छ।
बत्तीस कोठे दुई तले विद्यालय भवन अधुरो हुँदा पठनपाठनका लागि समस्या भइरहेको प्रअ खरेल बताउछन्। “कक्षा कोठामा झ्याल–ढोका र बिजुली केही जडान गरिएको छैन”, उनले भने, “पानी पर्दा सबै कक्षा कोठामा पस्छ, घाम लाग्दा बसिनसक्नुहुन्छ।” साविक महेशपुर गाविस–१, हाल भद्रपुर नगरपालिका–३ मा पर्ने सूर्यनगरस्थित उक्त अरनिको मावि अलपत्र छाडिएकै भवनमा विद्यार्थी वर्षौंदेखि जोखिम कष्ट सहेर पढ्न बाध्य छन्।
विद्यालयमा हाल ४०३ जना विद्यार्थी अध्ययनरत छन्। अठार जना शिक्षक र दुईजना कर्मचारी रहेका छन्। सो विद्यालयको भौतिक संरचना देख्दा लाग्छ, वर्षौंदेखि यो भवन प्रयोगविहीन छ। विद्यालयमा कक्षा कोठाको मात्र होइन, डेक्स–बेञ्चको हालत पनि उस्तै जीर्ण छ। “भवन निर्माणसँगै ७०० डेक्स–बेञ्च, ४० वटा कम्प्युटर सबै कोठामा पङ्खा राख्ने सम्झौता थियो”, प्रअ खरेलले भने, “भवन निर्माण नभएका कारण ती सामग्री पनि प्राप्त हुनसकेको छैन, भएका पुराना डेक्स–बेञ्च पनि काम नलाग्ने अवस्थामा पुगेको छ।”
भवन नबनेकै कारण ९ कक्षाबाट शुरु हुने कम्प्युटर इन्जिनीयरिङको कक्षा सञ्चालन हुन नसकेको विद्यालयले जनाएको छ। विसं २०७१ मा नयाँ भवनको निर्माण शुरु हुँदा साविक भवन भत्काइएपछि टिन र टाँटी बेराले बनाइएको अस्थायी कक्षा कोठामा राखेर विद्यार्थीलाई पढाएको सम्झँदै प्रअ खरेलले भने, “केही वर्ष दुःखले त्यही टहरामा पढायौँ। ठेकेदारले भवन निर्माणमा शुरुदेखि नै ढिलासुुस्ती गरेका कारण भवन अधुरो भएपछि झ्याल–ढोका बेगरकै कक्षा कोठामा सर्न बाध्य भयौँ।”