प्रदेश–२ का प्रमुख राजेश झा ‘अहिराज’ ले सकारात्मक सन्देश फैलाउन सुरक्षा निकाय, कर्मचारी र पत्रकार मिलेर काम गर्नुपर्ने बताएका छन्।
सप्तरीको सुरक्षा निकायका पदाधिकारी र पत्रकारबीच भएको अन्तरक्रियामा उनले हरेक नागरिकलाई देशप्रति गर्व र मधेसप्रति मायाको भावना जागृत गराउन एकजुट हुनुपर्ने बताए।
भ्रष्टाचारीको जात, धर्म, आस्था नहुने भएकाले क्षमा गर्न नहुने तथा राष्ट्रिय एकता र नागरिकको सुरक्षाका विषयमा सम्झौता नहुने उनले बताए। देशमा पछिल्लो समय उदारवाद, अनुदारवाद, चरमपन्थ, कट्टरवाद, बिग्रह हुँदै हिंसामा परिणत हुने अवस्था गम्भीर समस्याका रूपमा देखिएको झाले बताए।
प्रदेश–२ अभाव, अपराध अतिवादको चपेटामा परेकाले सबै मिलेर भ्रष्टाचारमुक्त सबल प्रदेश निर्माणमा जोड दिनुपर्ने बताए। सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जिल्लाको शान्ति सुरक्षा, कोरोना महामारी नियन्त्रणका लागि भएको गतिविधि, विपद्को तयारीको अवस्था बारेमा बताए।
प्रजिअ आचार्यले जनता र राज्यबीचको दूरी कम गर्न सामिप्यतालाई प्राथमिकतामा राखेको बताए। नेपाली सेनाका गणपति नीरज भण्डारी, प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमला, सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठ, उपअनुसन्धान निर्देशक नरेशबहादुर शाहले सीमा सुरक्षा, सीमास्तम्भ, लागूऔषध, द्वन्द्व, हिंसा र अपराधजन्य गतिविधि तथा पत्रकारलाई सूचनाको उपलब्धताको अवस्थाबारे जानकारी गराए।
पत्रकारले समाचारमार्फत द्वन्द्व र दूरी कम गर्न, समभावनामा आधारित समाज निर्माण गर्न पत्रकारले योगदान गरिरहे पनि सहज सूचना, सुरक्षा र सम्मान पाउन नसकेको बताए। पत्रकार मनोहर पोखरेल, धीरेन्द्र साह, अवधेश झा, श्रवण देव, वैद्यनाथ यादवलगायतले जिल्लाको विभिन्न क्षेत्रमा भइरहेको बेथितिबारे चर्चा गर्दै भ्रष्टाचारका विषयमा आएका समाचारप्रति राज्य सम्वेदनशील हुनुपर्ने माग गरेका छन्।