प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् मितव्ययी निर्वाचनका लागि सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय र सहकार्य अभिवृद्धि गर्न आवश्यक रहेको बताएका छन्।
निर्वाचन सञ्चालन एवम् व्यवस्थापनमा सहकार्य र समन्वय सम्बन्धमा निर्वाचन आयोगमा जिल्ला समन्वय समिति महासङ्घ, नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घका पदाधिकारीसँगको अन्तरक्रियामा उनले आगामी दिनका सहकार्यको खाँचो औँल्याए।
निर्वाचन सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा समन्वय र सहकार्यको भावी रणनीतिका लागि प्रतिवेदन तयार गर्न आयोगबाट सचिवसहित तीन तथा प्रत्येक सङ्घ महासङ्घबाट जनप्रतिनिधि एक/एक र कर्मचारी एक/एकको कार्यदल गठन गर्नसमेत उनले निर्देशन दिए।
कार्यक्रममा सहभागीले व्यवस्थित र नियमित मतदाता नामवली सङ्कलन, सहज र सुगम मतदानस्थल एवम् मतदान केन्द्रको व्यवस्था, निर्वाचन कार्यालयको भौतिक संरचना, मतदाता शिक्षाको प्रभावकारिता, मितव्ययी र प्रविधिमैत्री निर्वाचनमा जोड दिएका थिए।
उनीहरुले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार प्रयोग गर्ने सम्बन्धमा आयोगको ध्यानाकर्षण गराएका थिए। लोकतन्त्रको संस्थागत विकास एवम् सुदृढीकरणका लागि निर्वाचन आधारशिला रहेको जनाउँदै सहभागीले निर्वाचनसम्बन्धी आयोगको हरेक कार्यमा समन्वय र सहकार्यका लागि प्रतिबद्धता व्यक्त गरे।
निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले कार्यक्रमको उद्देश्य र सचिव सुरेश अधिकारीले स्थानीय तहसँग सो अवसरमा सहकार्य र समन्वयका सन्दर्भमा भएका संवैधानिक व्यवस्था, कानुनी व्यवस्था, सहयोग एवम् समन्वयका क्षेत्र र आयोगबाट भइरहेका गतिविधिहरूका सन्दर्भमा सङ्क्षिप्त प्रस्तुतीकरण गरे।
निर्वाचन आयुक्त, महासङ्घ तथा सङ्घबाट अध्यक्ष, उपाध्यक्ष, महासचिव, कार्यकारी निर्देशक तथा प्रतिनिधि सहभागी भएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।