केही दिनअघि कक्षा १२ को परीक्षा स्थगित गर्न माग गर्दै सामाजिक सञ्जालमा #CancelNEBExams अभियान नै चल्यो।
सुरुमा साउन ३१ गतेदेखि तोकिएको कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारीमा गरेको राट्रिय परीक्षा बोर्डले उक्त अभियान तीव्र भन्दै गएपछि शनिबार परीक्षा नै स्थगित गर्यो। उक्त अभियानमा युवा नेतृत्व, सामाजिक अभियान्तादेखि सेलिब्रेटीसम्मले साथ दिएका थिए।
कक्षा १२ को परीक्षा मात्रै स्थगित भए पनि हाल त्रिभुवन विश्वविद्यालयले विभिन्न तहका परीक्षा सञ्चालन गरिरहेको छ। कक्षा १२ को परीक्षा सञ्चालन गर्दा कोरोना सर्ने तर त्रिभुवन विश्वविद्यालयले परीक्षा सञ्चालन गर्दा कोरोना नसर्ने हो ? भन्दै धेरैले प्रश्न उठाइरहेको छन्। साथै उनीहरूले परीक्षा स्थगित गर्नुपर्ने माग गर्दै सामाजिक सञ्जालमा #CancelTUExams अभियान नै सञ्चालन गरिरहेको छन्।
यसअघि #CancelNEBExams अभियानलाई साथ दिएका कांग्रेसका युवा नेता गगनकुमार थापा, विश्वप्रकाश शर्मा, सामाजिक अभियान्ता ज्ञानेन्द्र कुमार शाहीलगायतले अहिले #CancelTUExams अभियानलाई साथ दिएका छन्।
उक्त अभियान अहिले ट्वीटरको ट्रेण्डिङमा छ। यो समाचार तयार पार्दासम्म #CancelTUExams भन्दै ५७ हजार ३ सय जनाले ट्वीट गरेका छन्।
यसबारे शर्मा आन्तरिक संवाद गरिरहेको र विद्यार्थीको जीवन जोगाउन, सम्बन्धित निकायलाई घच्घच्याउनु जिम्मेवारी रहेको बताएका छन्।
आइतबार कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको प्रसंग उल्लेख गर्दै शर्माले ट्वीटमा भनेका छन्, ‘तेस्रो लहरको उद्घाटन समारोह बन्दैछन्, परिक्षा हल, बजारको भिडभाड र मोटरहरु। सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छौं । पहिला खोप दिउँ, अनि परिक्षा लिउँ। भिडले कोभिड तीब्र बनाउँदैछ, सबै गम्भीर बनौं।’ उनले भौतिक उपस्थितिमा गरिने सम्पूर्ण परीक्षा स्थगित गर्नुपर्ने बताएका छन्।
त्यस्तै, कांग्रेस नेता थापाले प्रश्न गर्दै भनेका छन्, ‘कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन! यसको आधार र तर्क के हो ? यस विषयमा स्वास्थ्य मन्त्रालयको धारणा के छ?’
उनले स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनुपर्ने कि वैकल्पिक माध्यामबाट परीक्षा संचालन गर्नुपर्नेका प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
सामाजिक अभियान्ता ज्ञानेन्द्रकुमार शाहीले परीक्षा स्थगित गर्नुपर्ने, वा इन्टरनेट सेवा सहज भएका ठाउँहरुमा अनलाइनबाट गनुपर्ने बताएका छन्।
परीक्षा स्थगित गर्नुपर्ने माग गर्दै एक समूहले परीक्षा नियन्त्रण कार्यालयमा विरोध प्रर्दशन गरेको छ।
परीक्षा रोक्न माग गर्दै विद्यार्थीको एक समूहले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको छ। उक्त विषयमा प्रधानमन्त्री देउवा पनि सकरात्मक रहेको बुझिएको छ।
आजै दिउँसो मन्त्रिपरिषद् बैठक बस्दैछ । उक्त बैठकले परीक्षा जारी राख्ने वा स्थगित गर्नेबारे निर्णय गर्ने बताइएको छ।
यसअघि त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालन भइरहेको कुनै पनि परीक्षा स्थगित नहुने जनाएको थियो।