काठमाडौं — भूमिसम्बन्धी समस्या समाधान आयोग तत्काल खारेज नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले आयोग तत्काल खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश जारी गर्ने सन्दर्भमा छलफलका लागि दुबै पक्षलाई भदौ १ गते बोलाएको छ ।
आयोग खारेज गरिएको भन्दै विघटित भूमि आयोगका अध्यक्ष देवी ज्ञवालीसहितले अदालतमा रिट दर्ता गरेका थिए । शेरबहादुर देउवा नेतृत्वको सरकारले १९ साउनमा ज्ञवाली अध्यक्ष रहेको आयोग खारेज गरेको थियो ।