नेपाल शब्द नै अन्यन्त प्रिय छ मेरा लागि। म जस्तै सबैका लागि प्रिय होला यो शब्द। म नेपाली हुनुमा गर्व गर्छु र आफ्नो देशलाई माया गर्छु भन्न सायदै कोही पछि हट्ला। कसैले नेपाललाई नराम्रो भन्दा हामी सम्पूर्ण नेपाली एक भएर उसको विरोधमा उत्रिहाल्छौँ।
हामी देशमा आपतदविपद् आइपर्दा त्यसको मिलेर सामना गर्छौँ भने देशले पाएको सफलतामा सबै मिलेर खुसी बाड्छौँ। यही हो सँच्चा नेपाली हुनुको अर्थ। र, यही नै हो नेपालीपन!
तर, जस्तोसुकै परिस्थिति, चाहे त्यो सुखद होस् वा दुखद, मा सधैँ एकअर्कासँग हातेमालो गर्दै अगाडि बढ्ने हामी जातीय, लैंगिकलगायतका विभेदका सवालमा भने विभाजित हुन्छौँ। हामी यिनलाई चिर्न एक ढिक्का हुँदैनौँ। बरु हामी यस्ता विभेदलाई संरक्षण गर्न तन्मयताका साथ लागिपर्छौँ। हामी एकअर्काको सफलतामा पनि साथ दिन सक्दैनौँ। बरु हामी एकअर्काको खिचातानीमा उत्रिन्छौँ र ऊ लडेपछि उसको पछारिनुमा रमाउँछौँ।
मेरा एकजना छिमेकी काका हुनुहुन्छ। उहाँका दुई सन्तान छन्, एक छोरा र अर्की छोरी। उहाँ मुखले आफू दुवै सन्तानलाई बराबर माया गर्छु भन्नुहुन्छ, तर उहाँको बोली र व्यवहारबीच आकाश–पातलको फरक छ। उहाँले छोरालाई बोर्डिङ स्कुलमा हाल्नुभयो छ भने छोरीलाई घर नजिकैको सरकारी स्कुलमा। छोरालाई एसईईपछि उच्च शिक्षाका लागि काठमाडौंँ पठाउनु भयो भने छोरीले, ‘बाबा, एसईईपछि म पनि दादा जस्तै काठमाडौं जान्छु नि ।’ भन्दा छोरीलाई लिंगभेदी जबाफ फर्काउनुभयो। ‘तँ गइस् भने आमालाई घरमा कसले सघाउँछ? फेरि बिहे गर्ने उमेर हुन लागेकी छोरीले त्यसरी बाहिर जानु हुँदैन।’ उहाँले छोरीलाई कराउँदै भन्नुभयो।
छोरी र छोरीबीच भेद गर्ने तिनै काका लैंगिक विभेद अन्त्य गरौँ भन्दै जुलुसमा चर्को चर्को नारा लगाउनुहुन्छ। यी काका एक प्रतिनिधि मात्र हुन्। घरमा श्रीमतीलाई मान्छेको व्यवहार नगर्ने, अफिसमा दलित स्टाफसँगै बसेर खाजा नखाने, तर फेसबुकमा चाहिँ लैंगिक विभेद अन्त्य गरौँ, जातीय विभेद अन्त्य गरौँ लेख्ने पाखण्डीहरुको कमी छैन यहाँ। सबैभन्दा हास्यास्पद कुरा त के भने समाजको सबैभन्दा ज्यादा चिन्ता यिनै पाखण्डीहरुलाई हुन्छ। यिनीहरु चियापसलदेखि सभासम्मेलनमा समाज किन बनेन भनेर चिन्तन गरी बस्छन्।
मेरी एकजना साथीले अस्ति फेसबुकमा लेखिन्, ‘नेपालमा बसेर केही प्रगति हुँदैन, यहाँ सबै एकअर्काको कुरा काटेर तल झार्न मात्र जान्दछन्।’ उनको कुरा मलाई चित्त बुझ्यो। मैले मनमनै उनको प्रशंसा गरेँ। तर, त्यसको भोलि बाटोमा भेट्दा उनको बोली र व्यवहारमा देखियो। ‘तँलाई थाहा छ, फलानोलाई त जागिरबाट निकालिदिएछ नि, ठिक्क पर्यो! अस्तिसम्म मैले त पैसा कमाउन थाले भनेर खुबै धाक लाउथी।’ उनले कुराले म आश्चर्यचकित भएँ।
आफ्नो खुसी अरुसँग साट्दा दोब्बर हुन्छ भन्ने मान्छु म। मलाई कसैले अरुको खुसीमा खुसी हुन नसकेको देख्दा नराम्रो लाग्छ। मलाई अझ दुःख त त्यतिबेला लाग्छ, जब हामीले आफ्नो दुःख सुनाएको व्यक्ति पछि त्यही दुःखमा रमाउँछ। हामी सबै मानव भएर त जन्मिन्छौँ, तर हामीमध्ये थोरै मात्र सँच्चा मानव भएर मर्छौँ।
यदि हामी आफैँ अरुको खुसीमा खुसी हुन र अरुको दुःखमा रमाउन छोड्न सक्दैनौँ भने अरुलाई चाहिँ कसरी त्यस्तो बन्न भनेर अर्तिउपदेश दिनु व्यर्थ हो। यदि हामी आफैँ हरेक प्रकारका विभेदविरुद्ध आवाज उठाउन सक्दैनौँ भने अरुलाई न्याय र समानताको पक्षमा आवाज उठाऊ भन्नु मुर्खता हो।
हरेक धर्माअवलम्बी तथा जातजातीका चाड तथा संस्कृतिमा रमाउने, आफ्नो धार्मिक संस्कृतिलाई पछ्याएर अर्को धर्मको पनि उत्तिकै इज्जत गर्ने, नारीलाई देवी भनेर पुज्ने र छोरीबुहारीलाई घरकी लक्ष्मी मान्ने, हामी सबै बराबर हौँ भन्दै हिँड्ने यति विशाल हृदय भएका हामी नेपालीहरु व्यवहारिक पाटोमा भने सधैँ चुक्छौँ। साँचो अर्थमा नेपाली बन्न अझ भनौँ न्यायप्रेमी तथा समानताको पक्षमा वकालत मान नभएर व्यवहारमै भने लागु गर्न हामी हरेकपल्ट कहाँ चुक्छौँ, किन चुक्छौँ?
मैले नबुझेको नेपालीपन यही हो! हामी सबै सही छौँ भने गलत चाहिँ को हो त?