२५ साता पनि नपुगी जन्मिएकी क्वेक यु सुआनलाई सिङ्गापुरमा १३ महिना सघन उपचार गरेर अस्पतालबाट घर पठाइएको छ। सिङ्गापुरको न्याश्ननल यूनिभर्सिटी हस्पिटल (एनयूएच)ले साेमबार एक विज्ञप्ति जारी गर्दै जन्मिएको बेला जीवित रहने सम्भावना सीमित रहेकाे सुआनलाइ १३ महिना सम्म सघन उपचार गरेर घर पठाइएको जानकारी दिएकाे हाे।
यु सुआन समयभन्दा चार महिनाअघि जन्मिएकी हुन्। जन्मिँदा सुआनको तौल २१२ ग्राम अर्थात् एउटा स्याउको तौल जति र लम्बाइ २४ सेन्टिमिटर थियो। त्यसैले उनलाइ जन्म हुँदा संसारकै सबैभन्दा सानो शिशुकाे लिइएकाे थियाे। यु सुआनको तौल अहिले छ किलो ३०० ग्राम पुगेको छ।
गर्भवती हुँदा यु सुआनकी आमालाइ "प्री-इक्ल्याप्सीआ" नामक समस्या उत्पन्न भएको थियो। रक्तचाप धेरै बढेमा यस्ताे समस्या उत्पन्न हुने गर्छ। यस्ताे अवस्थामा महत्त्वपूर्ण अङ्गमा क्षति पुग्न सक्ने तथा आमा र बच्चा दुवैको ज्यान जान सक्ने सम्भावना धेरै हुने गर्छ। त्यसैले सुआन शल्यक्रिया गरेर गर्भबाट बाहिर निकालिएको थियो।
"जन्मिँदा स्वास्थ्यसम्बन्धी जटिलता भएको विषम परिस्थितिमा पनि उनले धैर्य र विकासबाट आफूवरपरका मानिसलाई प्रेरणा दिइन्। त्यसले उनलाई असामान्य 'कोभिड-१९' शिशु बनाउँछ - उत्पातका बीचमा पनि आशाकी आशाको एक किरण," अस्पतालले प्रकाशित गरेको एउटा विज्ञप्तिमा उल्लेख गरिएको छ।