काठमाडौं — लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजालसमा परेको छ ।
लुम्बिनी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका प्रदेशसभा सदस्य लीला गिरीले सोमबार रिट दायर गरेका थिए ।
गत सोमबार विपक्षी गठबन्धनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेको थियो । साथै उनीहरूले विशेष अधिवेशनको पनि माग गरेका थिए ।
त्यसअनुसार प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते बुधबार दिउँसो १ बजेका लागि प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरेका छन् ।