काठमाडौं — सभामुख अग्निप्रसाद सापकोटाले महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको अवस्था तत्काल सार्वजनिक गर्न सरकारलाइ निर्देशन दिएका छन् ।
प्रतिनिधि सभाको बैठक संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकमा सभामुख सापकोटाले आफ्नो गम्भीर ध्ययानाकर्षण भएको भन्दै धामीको अवस्थाबारे जानकारी गराउन निर्देशन दिएका हुन् ।
बैठकको शून्य समयमा बोल्दै सांसदहरुले महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको घटनाबारे सत्यतथ्य बाहिर ल्याउन माग गरेका थिए ।
यही साउन १५ गते बिहान दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा तुइन प्रयोग गर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएपछि स्थानीय धामी बेपत्ता भएका थिए ।
सरकारले सो घटनाको छानबिनका लागि यही साउन १७ गते गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । छानबिन टोलीलाई १० दिनको समयसीमा दिइएको छ ।