काठमाडौं — ललितपुरस्थित हिमालय इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले रिले अनशन सुरु गरेका छन्। शैक्षिक शुल्कमा छुटको माग गर्दै विद्यार्थीहरुले मंगलबार दिउँसोदेखि रिले अनशन सुरु गरेका हुन्।
कोरोना महामारीको समयमा अनलाइन कक्षा भएकाले कलेजले शुल्कमा छुट दिनुपर्ने माग राख्दै विद्यार्थीहरु विगत ९ दिनदेखि आन्दोलनमा उत्रिएका थिए ।
‘कलेजले विगत एक वर्षदेखि अनलाइन कक्षा सञ्चालन गर्दै आइरहेको छ। अनलाइन कक्षा गर्दा प्रयोगात्मक कक्षा हुँदैन, तर हामीहरुले तिर्ने शुल्कको आधा रकम प्रयोगात्मक कक्षाका लागि तिरेका हुन्छौँ,’ हिमालय कलेजमा सिभिल इन्जिनियरिङ चौथो वर्षमा अध्ययनरत छात्र तथा नेपाल विद्यार्थी संघका उपसभापति विवेक ज्ञवालीले नेपाली पब्लिकसँग भने, ‘यस्तो अवस्थामा कलेजमा हामीबाट पुरा शुल्क लिन मिल्दै मिल्दैन।’
ज्ञवालीले आफू र कलेज प्रशासनबीच चारचार पटक छलफल भइसक्दा पनि कलेजले आफूहरुको माग सम्बोधन नगरेको गुनासो गरे।
उनीहरुले महामारीको समयमा अनलाइन कक्षा मात्र सञ्चालन भएका कारण कलेजले आफूहरुलाई कम्तिमा ४० प्रतिशत छुट दिनुपर्ने माग गरेका छन् । तर, कलेज १० प्रतिशत मात्र छुट गर्न सकिने बताइरहेको छ। ‘हामीलाई यो कुरा कुनै पनि हालतमा मान्य छैन । हामीले कम्तिमा ४० प्रतिशत नै छुट चाहिन्छ,’ उनले भने।
कलेजले ४० प्रतिशत छुट नदिँदासम्म आफूहरुको आन्दोलन नरोकिने उनको अडान छ। बरु विभिन्न चरणका आन्दोलन गरी यो आन्दोलनलाई चर्काउँदै लग्ने उनले उद्घोष गरे । ‘अहिले त कलेज प्रशासनले हामीहरुको फोन पनि उठाउन छाडेको छ, हाम्रो मागलाई नगरअन्दाज गरिरहेको छ,’ उनले भने।
अहिले कलेज परिसरमा साढे दुई सय विद्यार्थी आन्दोलनमा रहेको र ६ जनाले संयुक्त रुपमा रिले अनशन सुरु गरेको उनले जानकारी दिए। ज्ञवालीले आफूहरुलाई सम्पूर्ण १२ सय विद्यार्थीको समर्थन रहेको बताए।
कोरोना कहरका कारण सम्पूर्ण विद्यार्थीहरु आन्दोलनमा सहभागी हुन नसके पनि आन्दोलनमा सम्पूर्ण विद्यार्थीहरुको ऐक्यबद्धता रहेको उनले चेतावनी दिए।
विद्यार्थीहरु शुल्क छुटको विषयमा ध्यानाकर्षण गराउन आइतबार ललितपुर सिडियो कार्यालय पनि पुगेका थिए। सिडियोले सोमबार विभिन्न इन्जिनियरिङ कलेजका प्रशासकहरुलाई बोलाएर छलफल गरेको थियो। तर, सिडियो कार्यालयले ठाकेको बैठकले गरेको निर्णय आफरुहरुलाई थाहा नभएको उनले बताए।
आन्दोलनरत विद्यार्थीहरुमाथि महानगरीय प्रहरी परिसर ललितपुरअन्तरगत बालकुमारी र मंगलबजारबाट खटिएको प्रहरी टोलीले लाठी प्रहार गर्दै बल प्रयोग गरेको थियो। हिमालय कलेजमा इन्जिनियरिङ, आइटी, बिसिएलगायत विषय अध्ययन गर्ने १२०० बढी विद्यार्थी छन्।
आन्दोलनमा अनेरास्ववियु, नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारी विद्यार्थी संगठन सहभागी छन्।